Logo

२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा रहेको दलित बस्ती पानीको पर्खाइमा बस्नु परेको छ । महानगरपालिका भएर पनि कुनै निकायले दलित बस्तीप्रति ध्यान नदिदाँ उनीहरु अहिले पानी तथा अन्य समस्याले ग्रसित छन् । लामो समय खडेरी परेकाले अहिले बारा पर्सामा अधिकांश स्थानमा पानीको हाहाकार नै मच्चिएको छ ।

वीरगञ्ज–१६ स्थित भुटनदेवी माईको मन्दिर पछाडि विगत २० वर्षदेखि बसोबास गर्दै आएकी खत्मु नेशाले अहिले पानीको समस्याले चिन्तित बनाएको गुनासो गर्नुभयो । छिमेकको धाराबाट पानी लिन जाँदा स्थानियले जातकै कारण भगाउने तथा गाली गर्ने गरेको उहाँको भनाइ छ ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले पानीको समस्या समाधान गर्ने भनेता पनि सो वडाका बासिन्दाले भने आफूहरु उक्त सेवाबाट वञ्चित भएको बताएका छन् ।

मेयर सिंहले १८ वडाका अतिविपन्न तथा बेसहारा घर परिवारमा खानेपानीको धारा जडान गर्ने कार्यक्रम ल्याउनुभएको थियो । तर उनीहरु भने यो सेवा लिनबाट वञ्चित छन् ।

वडा नं. १९ का वडाध्यक्षले दलित बस्तीमा गएर पानीको समस्या समाधान गर्ने भनेर आश्वासन दिएपनि कुनै काम भने नगरेको उनीहरुले आरोप लगाएका छन् ।

७ वटा घरधुरी भएको दलित बस्तीमा २० घर परिवारको बसोबास छ । उनीहरु २० वर्षदेखि नै ऐलानी जग्गामा त्रिपाल बिच्छाएर जीवीकोपार्जन गर्दै आईरहेका छन् ।


सम्बन्धित समाचार