Logo

३ असार, सेढवा पर्सा । पर्साका ग्रामीण भेगका बासिन्दा सुरक्षित गर्भपतन सेवा लिनबाट वञ्चित भएका छन् । पर्साको ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई, धोबीनी लगायतका बासिन्दा यो सेवा पाउनबाट वञ्चित भएका हुन् ।

महिलाले गर्भाधारण गरेको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था छ । तर उक्त गाउँपालिकाहरुमा दर्जनौ स्वास्थ्य सस्थां सञ्चालनमा रहेपनि सुरक्षित गर्भपतनको भने अभाव रहेको स्थानियको भनाइ छ ।

त्यस भेगका महिला सेवा लिन वीरगञ्जस्थित मेरी स्टोप्स पुग्ने गरेका छन् । त्यस्तै वीरगञ्जको नारायणी अस्पताल र विभिन्न निजी अस्पतालमा शुल्क तिरेर यो सेवा लिने गरेका छन् ।

स्वास्थ्यकर्मीलाई गर्भपतनसम्बन्धी तालिम दिनुपर्ने स्वास्थ्य कार्यलय पर्साकी मिरा यादवले बताउनु भयो । तर हाल तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको अभावका कारण सेवा सञ्चालन हुन नसकेको उहाँले भनाई छ । उहाँका अनुसार पुराना स्वास्थ्यकर्मी तालिमप्राप्त थिए ।

त्यस्तै ठोरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश थिङले सुरक्षित गर्भपतनसम्बन्धी दक्ष जनशक्ति नभएका कारण सेवा सञ्चालनमा आउन मुस्किल भएको बताउनुभयो । सुरक्षित गर्भपतनसम्बन्धी तालिमका लागि प्रदेश स्वास्थ्य तालिम केन्द्रमा माग गरिएको थिङको भनाई छ ।

यस्तै जिराभवानी गाउँपालिका वडा नं. २ सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादका पाँच वर्ष पहिले सेवा पालिकामै दिने गरिन्थ्यो । तर बिज्ञ स्वास्थ्यकर्मीको सरुवा भएपछि सेवा बन्द भएको उहाँको भनाइ छ ।

पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश सोलेन्द्र मिश्रले नगरभित्रका पोखरिया अस्पतालमा मेडिकल र सर्जिकल दुर्व प्रकारका गर्भपतन सेवा सञ्चालनमा रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट मासिक ५५ देखि ६५ जना महिलाले सुरक्षित रुपले गर्भपतनको सेवा लिदैँ आईरहेका छन् ।

यसैगरि सखुवाप्रसैनी गाउँपालिकाका सखुवाप्रसौनी र मोहवन स्वास्थ्य सस्थांबाट मेडिकल रुपले गर्भपतन सेवा सञ्चालनमा रहेको सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजेश रौनियारले जानकारी दिनुभयो । उहाँका अनुसार महिला गर्भवति भएको ७० दिनभित्र मात्र मेडिकल तरिकाले गर्भपतन गर्न सकिन्छ । उहाँले गत बैशाखमा ४ महिलाले मोहवन स्वास्थ्य सस्थांबाट गर्भपतन गराएको बताउनुभयो ।

पोखरिया नगरपालिकासिथत अस्पताल र सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य सस्थांहरुबाट पालिका बाहेक ग्रामीण भेगका अन्य क्षेत्रबाट पनि सेवाग्राही आउने गरेका बताईएको छ । हालसम्म कुनैपनि महिलाले गर्भपतनका कारण ज्यान गुमाउनु नपरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

ग्रामिण भेगका अन्य पालिकाहरुमा सेवा सञ्चालनमा नहुदाँ सीमावर्ती भारतीय बजार इनर्वा, भङहा, मैनाटाड र सिकटा बजारमा जोखिमपूर्ण सेवा लिन जानुपर्ने बाध्यता रहेको छ । जसका कारण जोखिमपूर्ण उपचार गराउँदा कतिपय महिलाको मृत्युसमेत भइसकेको छ ।


सम्बन्धित समाचार