Logo

३ असार, वीरगञ्ज । जनप्रतिनिधिको अवरोधका कारण पोखरीको माछा मारेको भन्र्दै पर्सा धोवीनी गाउँपालिकाका एक किसानले क्षतिपूर्तिको माग गरेका छन् ।

गाउँपालिकालाई तिर्नुपर्ने ठेक्का बापतको रकम नतिरेको भन्दै जनप्रतिनिधिले पोखरीबाट माछा झिक्न नदिएपछि लाखौ मूल्यका माछा पोखरीमै मरेको अवस्थामा रहेको माछापालक किसानले बताएका छन् ।

धोबिनी गाउँपालिकाको लापरवाहीका कारण पोखरीको सम्पूर्ण माछा मरेर लाखौ मूल्य बराबरको क्षती पुगेको माछा पालक किसान एनुल मियाँले बताए ।

गाउँपालिकाले आठ महिना देखि ठेक्काको रकम नबुझाएको भन्दै पोखरीको माछा मार्न रोक्का गरेको थियो । तर गत जेष्ठ ३० गते पोखरीबाट माछा मार्ने र किस्ताको रकम दिने शर्तमा लिखित फुकुवा पत्र दिएपछी मात्र पोखरी सञ्चालक एनुल मियाँले असाढ १ गते पोखरीमा रहेको माछा मार्न सुरु गरेका थिए ।

सोही समयमा पुनः गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत संजय यादव र वडा अध्यक्ष मनाउर मियाँको निर्देशनमा मातहतका कर्मचारी, गाउँपालिका कार्यालय, प्रहरी र वडाको कर्मचारीहरुले पोखरीमा गई माछा मार्न रोक लगाएको बताईएको छ ।

त्यस्तै उनीहरुले बिक्री गर्न महाजालमा निकालिएको माछालाई समेत पोखरीमा आफै फाल्न लगाएको मियाँले गुनासो गरेका छन । माछा पोखरीमा फाले लगत्तै माछाहरु मर्न थालेको र भोलीपल्ट शानिबार (हिजो) बिहान जाँदा पोखरीको साना ठुला गरि लाखौ मूल्य बराबरको माछा मरेर पानीमा तैरिएको नगमा माछा पालनका सञ्चालक मियाँको गुनासो छ ।

घटनाबारे आफूले ईलाका प्रहरी कार्यालय लंगडी तथा पोखरियालाई जानकारी गराएको मियाँको भनाइ छ । यता पोखरीमा साना ठूला गरि लाखौँ मूल्य बराबरको माछा पोखरीमै तैरिएको प्रहरीले जनाएको छ ।

सञ्चालक मियाँले सात बिगाहामा रहेको उक्त पोखरी ९९ लाख ३६ हजारमा पाँच वर्षको लागि ठेक्का लिएर माछा पालन गर्दै आइरहेका थिए ।

गाउँपालिकाका जनप्रतिनिधिहरुको गलत निर्णयको कारण पोखरीको माछा मरेकोले उक्त माछामा भएको लगानी सहित माछाको क्षतिपूर्तिर्को दिनुपर्ने माग किसान मियाँको छ ।


सम्बन्धित समाचार