Logo

५ असार,वीरगञ्ज । लामो समयदेखि खडेरी परेर चिन्तित भएका पर्साबासी मङगलबार वर्षा भएपछि हर्षित भएका छन् । लामो समयको खडेरी पछि एक्कासी आज परेको पानीका कारण सम्पूर्ण जिल्लाबासी नै खुसी भएका हुन् ।

बैशाख जेष्ठदेखि नै बढेको उखरमाउलो गर्मीका कारण अस्तव्यस्त बनेको पर्साबासीको जनजीवन असारको पहिलो हप्ता नै पानी परेपछि केहि राहत भएको छ । लामो अन्तरालपछि परेको पानीका कारण किसान, दैनिक ज्यालादारी काम गर्ने मजदुरलाई बिशेष राहत पुगेको बताएका छन् ।

पानी नपर्दा खेतबारीमा बाली लगाउन समेत नपाएका किसानका लागि पानीले उत्साह थपेको छ । स्थानिय किसान गौरीशंकर यादवले आज मज्जाले पानी प¥यो, अब बाली लगाउन पाइने भइयो भन्दै खुसी व्यक्त गरेका छन् । पानी परेपछि स्थानियले वीरगञ्जमा बढेको अत्याधिक गर्मी मौसमबाट शीतलताको अनुभुती समेत गर्न पाएका छन् ।

खडेरीपछिको पानीले केहिदिन देखि सुकेको पानीको मुहानमा समेत फाइदा पुगेको स्थानियको भनाइ छ । पानी परेपछि अब पानीको समस्या समाधान हुने उनीहरुको विश्वास छ ।

उता केहि मात्रामा हावाहुरी सहित आएको पानीले जिल्लामा यस वर्ष राम्रो उत्पादनको सङ्केत देखिएको आँप, लिची जस्ता फलफूलमा भने क्षती भएको छ । पानीसँगै आएको हावाहुरीका कारण यहाँका बगैचाका फलफूलको फुल भने झारेको देखिएको छ ।


सम्बन्धित समाचार