Logo

७ असार,काठमाडौं। । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले भारतीय फिल्ममा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा आज शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय चलचित्रलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले छलफलका लागि असार १२ गते दुवै पक्षलाई बोलाएको छ ।

भारतीय चलचित्र ’आदिपुरुष’ मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद मूल फाइलबाट नहटाएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गएको सोमवारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ । मेयर शाहको निर्णयविरुद्ध चलचित्र सङ्घले उच्च अदालत पाटनमा रिट दायर गरेको हो ।

यसैबीच मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै अदालतले आदेश दिए पनि काठमाण्डौ महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिनुभएको छ ।

चलचित्र लेखकले नेपाल भारतको अधिनमा थियो भन्नुले चलचित्रको नियत स्पष्ट भएको भन्दै मेयर शाहले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर महानगरमा भारतीय चलचित्र चल्न नदिने बताउनुभएको छ । उहाँले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कुनै कानुन र अदालतलाई नमान्ने जिकिर गर्नुभएको छ ।


सम्बन्धित समाचार