Logo

तस्विर : विशाल पटेल

७ असार, वीरगञ्ज । पर्सा जिल्ला अदालतमा मुद्दाको चाप ज्यादै र न्यायाधिशको सङख्या न्युन हुदाँ न्याय सम्पादनमा समस्या देखिएको छ । ११ जना न्यायाधिशको दरबन्दी रहेको पर्सा जिल्ला अदालतमा हाल १० जना न्यायाधिश कार्यरत छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्त सम्म पर्सा जिल्ला अदालतमा ११ हजार ७ सय ४० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ४ हजार ८ सय ३६ वटा मुद्दा फछ्र्यौट भएको छ, भने ६ हजार ९ सय ४ वटा मुद्दा फैेसला हुन बाँकी छ ।

पर्सा जिल्ला अदालतका श्रेस्तेदार अरुण कोइरालाले काठमाण्डौँ पछि सबैभन्दा बढि मुद्दा पर्सा जिल्ला अदालतमा परेको उल्लेख गर्नुभयो । सामान्यतया प्रति न्यायाधिशले ५ सय मुद्दा हेर्ने सामान्य नियम छ । तर मुद्दाको चाप बढि हुदाँ र न्यायाधिशको सङख्यामा कमी आउँदा प्रति न्यायाधिश १ हजार २ सय सम्म मुद्दाको फैसला गर्न परेको उहाँको भनाइ छ ।

यसरी न्यायाधिशमा मुद्दाको चाप बढ्दा न्याय सम्पादनमा ह्रास नआई मुद्दा फछ्र्यौट सङख्या भने कम भएको कोइरालाको भनाइ छ ।
मुद्दाको चाप बढि भएको र न्यायाधिशको सङख्या ज्यादै कम भएकाले मुद्दा फछ्यौट सङख्यामा कमी आएको कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुद्दाहरुको प्रकृति फरक फरक हुने भएकाले फैसलामा ढिलो चाडोँ हुने गर्दछ । कुनै दिन एकैदिनमा ५–६ वटा मुद्दा फछ्र्यौट हुने गरेको छ । भने कुनै मुद्दामा ४ दिनदेखि ५ दिनसम्म लाग्ने गरेको उहाँको तर्क छ ।

पर्सा जिल्ला अदालतमा गत वर्षको ६ हजार ४१५ मुद्दा फैसला हुन बाँकी रहेकोमा चालु आवमा ५ हजार ३२५ मुद्दा दर्ता भएको छ । १० वटा फाट रहेको पर्सा जिल्ला अदालतमा चालु आर्थिक वर्षमा ५ सय ३२ मुद्दा दायरी फाँटको फछर्यौट गरिएको छ ।

अदालतमा कार्यरत १० जना न्यायाधीश मध्ये बिनोद कुमार पोखरेलले ६८६, रामप्रसाद शर्मा ७४८, बिष्णु प्रसाद उपाध्याय ६९१, ध्रुवराज त्रिपाठी ५२५, कृष्ण प्रसाद पौडेल ३३२, विश्वनाथ भट्टराई ६०२, प्रल्हाद कुमार योगी ४५४, विधाराज पौडेल ५१८, र ४ महिनापछि मात्र हाजिर हुन आउनुभएका पुरुषोत्तम नेपाल ४०१, भगवती शर्मा ढुंगानाले ३४४ वटा मुद्दाको फैसला गर्नुभएको छ । त्यस्तै ६७ वटा मुद्दा सरुवा भई जानुभएका न्यायाधिशले फैसला गर्नुभएको श्रेस्तेदार कोइरालाले बताउनुभयो ।

जिल्ला अदालत पर्सामा सामान्य घर झगडा, अंश, जग्गा किचलो देखि कर्तव्य ज्यान मुद्दा, घरेलु हिंसा, जबरजस्ती करणी, सम्बन्ध विच्छेद, देवानी लगायतका मुद्दा आउने गर्छन । सबैभन्दा बढि लागुऔषधका मुद्दाहरु अदालत आउने गरेको श्रेस्तेदार कोइरालाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार