Logo

७ असार, वीरगञ्ज । आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल विश्व विजेता वेष्ट इण्डिजसँग पराजित भएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल १०१ रनले पराजित भएको हो । वेष्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २३८ रनमा अल आउट भएको हो ।

वेस्ट इण्डिजको तीव्र बलिङअगाडि नेपाल सुरुदेखि नै दबाबमा थियो । कुशल भुर्तेल ५, भिम सार्की २ रनमै आउट भए ।

ओपनर आसिफ शेखले २८ रन बनाए । उनले ३६ बल खेलेर ३ चौका प्रहार गरे । कप्तान रोहित पौडेलले ३० रन जोडे । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । कुशल मल्ल २ रनमै आउट भए ।

दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । उनले २० बल खेली २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख र गुल्शन झाले सातौं विकेटमा ६८ रनको साझेदारी गर्दै दुई सय रनको नजिक पुर्‍याए । गुल्शनले ५८ बल खेलेर ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाए । सन्दीप लामिछाने १ रनमै आउट भए । आसिफले ६३ रन जोडे । उनले ९३ बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।

ललित राजवंशी शून्य रनमा अविजित रहे । करण केसी आउट हुने अन्तिम खेलाडी थिए । उनले २७ बल खेली ४ चौका र १ छक्कासहित २८ रन बनाए ।


सम्बन्धित समाचार