Logo

८ असार, वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन हुने भएसँगै असार १० गते आइतबार देखि नयाँ ऐन अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकता उपलब्ध गराइने भएको छ ।

सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खोलेसँगै विगतमा नयाँ ऐन अनुसार रोकिएको नागरिकता वितरण कार्य आइतबार देखि सुचारु गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले गत जेठ २१ गते सूचना निकालेर जेठ २२ गतेदेखि नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण गर्ने जनाएको थियो । तर उक्त ऐन विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण सुरु नहुँदै रोकिएको थियो ।

सर्वोच्च अदालतबाटै नयाँ नागरिकता ऐन अनुसार नागरिकता प्रदान गर्ने बाटो खोलेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता ऐन अनुसार जन्मसिद्ध नागरिकका सन्तानसहितका नागरिकता विहीनहरूलाई नागरिकता वितरण कार्य सुरु गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

उहाँले जेठ २१ गते जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख गरिएका कागजातहरू लिएर कार्यालयमा आइतबारदेखि सम्पर्क गर्न लक्षित सेवाग्राहीलाई आग्रह पनि गर्नुभयो ।

जन्मसिद्ध नागरिकको सन्तानको हकमा बुबा आमा दुवैको सक्कल नेपाली नागरिकता र त्यसको प्रतिलिपि , वडाध्यक्षको सिफारिससहितको अनुसूची र फारम, सक्कल जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र , बाबु आमा, सन्तानबिचको फोटोसहितको सक्कल नाता प्रमाणित, बसाइसराइ गरि आएकाहरूको हकमा बसाइसराइ प्रमाणपत्र लगायतका कागजपत्रहरू अनिवार्य रुपमा लिएर कार्यालयमा आउनु पर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

नागरिकता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई यस अघि नै पत्राचार गरिसकेको छ ।


सम्बन्धित समाचार