Logo

१०असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजबाट टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्ने भएका छन् ।

जिल्लाका जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार सूचना प्रकाशित गरी नागरिकता वितरणबारे जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा जनशक्ति (कर्मचारी), साधन स्रोतको अभावसँगै सेवाग्राहीको बढ्दो चापलाई ख्याल गरी सहज, सरल, पारदर्शी र छिट्टो छरितो सेवा दिने उद्देश्यले अनलाइन टोकन प्रणालीबाट नागरिकता वितरण गरिने व्यवस्था मिलाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् । यसका लागि कार्यालयले वेबसाइट र क्यूआर कोडसमेत बनाएका छन् ।

‘आइतबारबाटै यो व्यवस्था मिलाइएको छ,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘अनलाइनमार्फत नागरिकतासम्बन्धी विवरण प्रविष्ट गरेपछि तोकिएको दिनमा सेवाग्राहीले कार्यालयमा आएर सेवा लिन सक्नेछन् । यसरी गर्दा कार्यालयमा भीड पनि कम हुने र सेवाग्राहीलाई हैरानी पनि हुँदैन, त्यसैले यस्तो व्यवस्था मिलाएका छौं ।’

नेपाल नागरिकता ऐन (पहिलो संशोधन) २०७९ कार्यान्वयन गर्ने क्रममा जन्मको आधारमा नागरिकता लिएको सन्तानलाई वंशजको नाताले नागरिकता दिन लागिएको हो । नागरिकतासम्बन्धी संवैधानिक र कानुनी अड्चन र जटिलतालाई सर्वोच्च अदालतले बिहीबार टुंगो लगाएपछि नागरिकता वितरण गर्न लागिएको हो ।

नागरिकता ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सर्वोच्च अदालतमा रिट परेको थियो । रिट परेपछि सर्वोच्चले अन्तरिम आदेश गरेको थियो । त्यसपछि अन्तिम सुनुवाइमा अन्तरिम आदेश खारेज भएपछि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्ने बाटो खुलेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हालै प्रमाणित नागरिकता विधेयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजबाट नागरिकता बितरण हुन लागेको हो। त्यसका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ।


सम्बन्धित समाचार