१०असार,वीरगञ्ज । पर्सामा आजदेखि नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण गर्न शुरु गरिएको छ। नयाँ नागरिकता ऐनअनुसार आइतबारदेखि जिल्लामा जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता बितरण गर्न शुरु गरिएको हो।
पर्सामा पनि शुक्रबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर नयाँ नागरिकता ऐनअनुसार नागरिकता बनाउँदा चाहिने कागजातबारे जानकारी दिएको थियो। जसअनुसार कागजात पुगेका जन्मसिद्धका नागरिकलाई वंशजको आधारमा नागरिकता बितरण गर्न थालिएको हो।आइतबारबाट जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भीड नै लागेको थियो।
लामो समयसम्म अनागरिक भएर बसेका जन्मसिद्धका सन्तान नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि लाइनमा बसेका थिए।जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा नयाँ नागरिकता ऐनअनुसार जन्मसिद्धका सन्तानलाई नागरिकता दिनको लागि टोकन प्रणाली लागू गरेको छ।
यसअघि गत शुक्रबार नै एक सय भन्दा बढी जन्न्मसिद्धका सन्तानहरुले नागरिकता पाउनको लागि फर्म भरेका थिए।फर्म भरेका उनीहरुले आईतबार’ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेका छन् ।लामो समयसम्म आफुले नागरिकता नपाउँदा ब्यापार ब्यावसाय,बैंक खाता खोल्न लगायतका कुनै पनि कामहरु गर्न नसकेको पर्साको पटेर्वा सुगौली गाउँपालिका सोनबर्षा टोलका अब्दुल रहमान अन्सारीले जानकारी दिए।
उनले लामो समयको पर्खाईपछि नागरिकता पाएपछि आफु निक्कै खुशी लागेको बताए। ‘पहिला त नागकिरता नहुँदा एउटा सिमकार्डसमेत लिन सकेको थिईन,नागरिकता नपाउँदा त कहीँ पनि जान पाइँदैन थियो,उनले भने,मैले ब्यापार गर्दा मेरो नामले एउटा बैंक खातासमेत खोल्न सकेको थिईन आमाको नाममा खोलेर आमालाई नै लिएर बैंक जानुपर्थ्यो,अब समस्या समाधान भयो।’
सोही गाउँपालिकाका हबिबु रहमान अन्सारीले नागरिकता नहुदा पढाईमा समेत समस्या आउने गरेकोले नागरिकता पाएपछि अब अगाडिको पढाई ढुक्क भएर गर्न सक्ने बताए। उनले आफूलाई अहिले नागरिकता पाउदा खुशीको सीमै नरहेको बताए। नागरिकता नहुँदा कुन देशको नागरिक हो भनेर कसैले सोधिदिए के भन्ने जस्तो लागिरहेको भए पनि नागरिकता पाएपछि अब आफूले छाती फुलाएर नेपालको नागरिक हु भन्न सक्ने अन्सारीको भनाइ थियो।
‘नागरिकता नहुँदा कसैलाई म कहाँको नागरिक हु भनेर कसैले सोधे भने के भन्ने जस्तो लाग्थयो अब त्यस्तो हुदैन नागरिकता पाए मैले,उनले खुशी हुँदै भने,खुशी त म भन्नै सक्दिन अब एजुकेशनको लागि हाई लेभल पढन सक्छु जागिर गर्न सक्छु ।’लामो समयदेखि नागरिकता नहुँदा बिबिएसको अध्यन गरिरहेका वीरगञ्जका भिम चौबेले नागरिकता पाएपछि बाहिर गएर पढन तथा जागकिर गर्नमा समस्या नहुने जानकारी दिए।
उनले नागरिकता नभएकै कारणले एक पटक कारखानामा लेखापालमा लागेको जागिर समेत नपाएको गुनासो सुनाउदै नागरिकता पाएपछि जहाँ पनि जागिर पाउन सकिने जिकिर गरे । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा गत बिहीबार अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएसँगै नागरिकतासम्बन्धी विवाद टुंगिएसँगै जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बाटो खुलेको थियो।