Logo

११ असार,वीरगञ्ज । पर्सा जिल्लाका पाँचवटा स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । एक महानगरपालिका, ३ नगरपालिका र १० वटा गाउँपालिका रहेको पर्सामा छिपहरमाई, धोविनी, विन्दवासिनी, सखुवा प्रसौनी र कालिकामाई गाउँपालिकाले बजेट ल्याएका छैनन् ।

छिपहरमाई गाउँपालिकाले असार १५ गते नीति तथा कार्यक्रम र बजेट एकैपटक ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताउनुभयो ।

त्यस्तै विन्दवासिनी गाउँपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि बजेट ल्याउन सकेको छैन । विन्दवासिनी गाउँपालिकामा कार्यरत राजु साहको जिल्ला समन्वय समिति पर्सामा सरुवा भएपछि बजेट ल्याउन ढिलो भएको हो ।

विन्दवासिनीमा असार अन्तिम सातामा मात्रै प्रमुख प्रशासकीय अधिकृत आउने भएकोले साउनमा मात्रै बजेट आउने सम्भावना रहेको अध्यक्ष प्रमोद तिवारीले बताउनुभयो ।

त्यस्तै कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको जीराभवानी गाउँपालिकामा सरुवा भएको र नयाँ प्रमुख प्रशासकीय अधिकृत नवोनाथ यादव कार्यालयमा हाजिर नहुँदा बजेट ल्याउन ढीलो भएको छ ।

दुईतिन दिनमा प्रमुख प्रशासकीय अकिृत यादव हाजिर हुने जानकारी पाएकोले त्यसपछि तुरुन्तै बजेट ल्याउने कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमारले बताउनुभयो ।

बजेटको तयारी लगभग भएपनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा ढिलो भएको उहाँले बताउनुभयो । धोविनी गाउँपालिकामा भने अध्यक्ष नै अल्पमतमा परेपछि बजेट आउन ढिलो भएको छ । १३ सदस्यीय कार्यपालिकामा अध्यक्षको पक्षमा ३ जना र बाँकी विपक्षी रहेकोले सहमतिमा ल्याएर बजेट ल्याउने प्रयासमा अध्यक्ष मदन चौहान रहनुभएको छ ।

धोविनी गाउँपालिकाको गाउँसभामा पनि ७५ प्रतिशत विपक्षमा नै रहेकोले पनि बजेट ल्याउन चौहानलाई चुनौती रहेको छ । आन्तरिक छलफल मै रहेको र दुईतिन दिनमा बजेट आउने धोविनी गाउँपालिकाका अध्यक्ष मदन चौहानले बताउनुभयो ।

यस्तै सखुवा प्रसौनी गाउँपालिका कार्यालयले पनि बजेट ल्याउन सकेको छैन । बजेट विनियोजन नै नभएको र पार्टीको अधिवेशनमा रहेकोले बजेट ल्याउन नसकेको उपाध्यक्ष शर्मिला विष्ट महतोले बताउनुभयो ।

पर्साको ठोरी गाउँपालिकाले भने अहिले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेको छ । बजेट ल्याउन चाहिँ दुईचार दिन ढिला हुने भएको छ । प्रदेशबाट पाउने बजेटहरुमा केही समस्या भएकोले बजेट ल्याउन ढिला भएको तर, असार २० गते भित्रमा बजेट ल्याईसक्ने गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।

 


सम्बन्धित समाचार