Logo

११ असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो दिन १ सय २१ जनाले नागरिकता लिएका छन् । नयाँ नागरिकता ऐन अनुसार हिजो आईतबार मात्र १ सय २१ जनाले जन्मको आधारमा वशंज नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिनुभयो ।

लामो समयदेखि रोकिएको नागरिकता विद्येयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै कार्यन्वयन हुने भनिएपनि गत जेष्ठ १९ गते सो विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । जेष्ठ २१ गते सर्वोच्च अदालतले नागरिकता विद्येयक विरुद्ध अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

असार ७ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको हो । नयाँ ऐन अनुसार नागरिकता वितरण गर्न सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिन आउने सेवाग्राहीहरुको बिहानैदेखि भिड बढेको छ । सेवाग्राहीलाई छिटो छरितो र सहज तरिकाले सेवा प्रदान गर्नकै लागि कार्यालयले अनलाईन टोकन प्रणाली सञ्चालनमा ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभयो ।


अनलाईनबाटै टोकन लिएर टोकनमा उल्लेख गरिए बमोजिम आफ्नो पालो परेको दिनमा आएर सेवा लिन सकिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो । टोकन जिल्ला प्रशासन कार्यालय पर्साको वेवसाइटमा गएर लिन सकिने उहाँको भनाइ छ ।

आज पनि बिहानैदेखि नागरिकता लिन आउने सेवाग्राहीको कार्यलयमा भिड लागेको छ । नागरिकता विहिन रहेका नागरिक नागरिकता प्राप्त गरेसँगै खुसी भएका छन् ।


सम्बन्धित समाचार