Logo

१२ असार, वीरगञ्ज । भौतिक रुपमा आक्रमणका घटना बढन थालेको भन्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीले शान्ति सुरक्षाको व्यवस्था गर्न महानगर प्रमुखसँग माग गरेका छन् ।

विभिन्न स्वार्थ समूहसँग जोडिएका व्यक्तिहरुले महानगरको कार्यालय र फिल्डमा जाने कर्मचारीलाई दुव्र्यवहार गर्न खोजेको हुदा काम गर्ने वातावरण नभएको भन्दै नगर प्रमुख राजेशमान सिंह समक्ष आज कर्मचारीले ध्यानाकर्षण पत्र बुझाउने भएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्र्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले वडा नं. १ मा विकाश निर्माणको कामको अनुगमन गर्न गएको समयमा केही व्यक्तिहरुले अभद्र व्यवहार गर्न खोजेको र कार्यालयमा समेत पटक पटक स्वार्थ समूहले आक्रमण गर्ने धम्की दिनेगरेकोले काम गर्ने वातावरण नभएको कर्मचारीको भनाई छ ।

महानगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष मनोज राउतको अनुरोधमा स्थलगत अनुगनमा पुग्नु भएका प्रमुख प्रशासकिय अधिकृत पौडेलमाथि केही व्यक्तिले हुलहुज्जत गर्न खोजेका थिए । महानगरपालिकाले सडक गल्ली भित्रका ५ मिटर सम्मका रोडमा ढलान नगर्ने नीति अख्तियार गरेको छ ।

महानगरको सौन्दर्यकरणको बजेटबाट सडकमा कंकिट व्लक पेवर्स राखेर सडक निर्माणको काम भइरहेको अवस्थामा उक्त सडकमा पेवर्स नराखी ढलान गर्न स्थानीयवासीले माग गरेका थिए । प्रशासकिय अधिकृत पौडेलले सौन्दर्यकरणका लागि तोकिएको बजेट भएकोले यसमा पेवर्स राख्ने काम भएको जानकारी दिनु भएको थियो ।

पर्यावरणलाई व्यवस्थित गर्न साना गल्लीहरुमा ढलान भन्दा पेवर्स प्रभावकारी हुने र यसले गाउँटोलको सौन्दर्यकरण राम्रो देखिने भएकोले महानगरपालिकाले चालु आर्थिक बर्ष देखि साघुँरा सडकमा ढलान नगर्ने नीति लिएको छ । बर्षातको पानी जमिनमा सजिलै जाने र बृक्षरोपण गर्न सकिने भएकोले पेवर्सबाट सडक निर्माण गर्न खोजिएको महानगरपालिकाको भनाई छ ।

अहिले सरोकार समेत नभएका व्यक्तिहरु बजेट र विकासको नाउँमा कार्यालयमा प्रवेशगरी योजनाशाखाका कर्मचारीलाई धम्काउने र गालीगलौज समेत गर्न थाले पछि कार्यालय र फिल्डमा खटीने कर्मचारी असुरक्षित भएको भन्दै मेयर राजेशमान सिंहको ध्यानाकर्षण गराउन खाेजिएकाे एक कर्मचारीले बताए ।

वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा नगर प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने गरेका छन् । असार मसान्तमा बजेट माग्ने र अनावश्यक दुख दिने नियतले कार्यालयमा आउने मानिसको संख्या बढेकोले सुरक्षा सतर्कता बढाइएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्ज महानगरका कर्मचारीले स्वार्थ समूह र व्यक्तिबाट हुने अनावश्यक हस्तक्षेप, दुव्यवहार, आक्रमण र धाकधम्कीका घटना नियन्त्रण नभए कार्यालय र फिल्डमा काम गन नसकिने जानकारी दिएका छन् । वीरगञ्ज महानगरपालिका भित्र र फिल्डमा खटिने कर्मचारीको शान्तिसुरक्षाको व्यवस्था गर्न र दोषी माथि कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । भौतिक असुरक्षाको कारण काम गर्न सक्ने वातावरण नभए चरणबद्ध आन्दोलनमा उत्रने कर्मचारीले चेतावनी दिएका छन् ।

अमूक राजनीतिक दलको आवरणमा हुने अपराधीक गतिविधिलाई समयमै नियन्त्रण नगरेमा यसले महानगरपालिका भित्र अराजकता र दण्डहिनताको स्थिती पैदा हुन सक्ने भन्दै कर्मचारीले चिन्ता जाहेर गरेका छन् । उनीहरुले राजनीतिक समस्याको समाधान राजनीतिक ढंगबाट समाधान खोजिनुपर्ने तर्फ सम्वन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।


सम्बन्धित समाचार