Logo

१३ असार, वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले मधेसमा पर्यटन क्षेत्रको विकास र संभावना, पूर्वाधार निर्माण तथा औद्योगिक क्षेत्रको समस्या समाधानका लागि आफूले विशेष पहल गर्ने बताउनु भएको छ ।

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा नेतृत्वमा मन्त्रालय पुगेको टोलीलाई मन्त्री रिजालले मधेस प्रदेशमा पर्यटन उद्योगको विकासका लािग आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

हालै चीन भ्रमणबाट फर्किएका मन्त्री रिजालले आफू नेपालको पर्यटकीय सम्भावनाबारे जानकार रहेको भन्दै मधेस प्रदेशमा देखिएको औद्योगिक समस्या र त्यसको समाधानका लागि तत्काल पहल गरिने बताउनु भएको हो ।

जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका शर्माको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मधेसमा विद्युतको समस्याले उद्योगहरु संकटमा परेको र मजदूर पलायनको अवस्थामा रहेको भन्दै त्यसका लागि संघीय सरकारबाटै तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

यसका लागि सरकारका तर्फबाट तत्कालको संकट टार्नेगरी काम अघि बढाउन आवश्यक रहेको अध्यक्ष मोहन शर्माले बताउनु भयो ।

उद्योग मन्त्री रिजाललाई जेठ २६ र २७ गते बाराको सिमरामा भएको मधेस कन्क्लेभको प्रतिवेदनसमेत बुझाइएको थियो । भेटमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन विकासमा प्रवद्र्धनसँगै पूर्वाधार विकासको कामलाई पनि महत्व दिनुपर्ने भन्दै आगामी नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट कार्यान्वयनमा पर्यटनलाई विशेष जोड दिन मन्त्री रिजाललाई आग्रह गरे ।

‘नेपालको विकास र समृद्धिमा पर्यटन एक महत्वपूर्ण खम्बा हो । यसका लागि उद्योग मन्त्रालयको भूमिका अझ विशेष छ’ उनले मन्त्री रिजालसँग भने, ‘अबका दिनमा उद्योग मन्त्रालयले नै पर्यटन पूर्वाधार र संरचनाको काममा विशेष जोड दिन आवश्यक छ ।’ भेटमा पर्यटनविद् डा. हिमलाल घिमिरेले मधेस कन्क्लेभमा भएका विषयमाथिको बहस तथा छलफलको सबै तथ्य प्रतिवेदनमा समेटिएको भन्दै प्रतिवेदनमा औल्याइएका विषयमा आगामी दिनमा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समेटिन आवश्यक रहेको बताए ।

शर्माकै संयोजकत्वमा भएको मधेस कन्क्लेभमा पर्यटन, औद्योगिक विकास, चुरे संरक्षण, मधेसको आगामी योजना तथा कार्यक्रमका विषयमा छलफल भएको थियो । सो कन्क्लेभको प्रतिवेदन यसअघि पर्यटनमन्त्री सुदन किराँती, मधेस प्रदेश सरकार र उद्योग विभाग तथा सहयोग गर्ने स्थानीय तहका प्रमुखलाई पनि बुझाइएको थियो ।

टोलीमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, पर्यटन व्यवसायी राम श्रेष्ठ, पर्यटनविद् डा. हिमलाल घिमिरे लगायत रहेका थिए ।


सम्बन्धित समाचार