Logo

१३ असार, वीरगञ्ज । मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले मधेसमा शिक्षा र कृषि क्षेत्रलाई उत्पादन मुखी बनाउनु पर्ने बताउनु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. २७ को उदयपुरघुर्मीमा निर्माण सम्पन्न भएको डिप बोरिङको राज्यमन्त्री अंसारीले उद्घाटन गर्दै कृषिमा आधुनिकरण र उत्पादनमा जोड दिनुपर्ने बताउनु भएको हो ।

राज्यमन्त्री अंसारीले किसानले खेतीलाई निर्वाहमुखी मात्र बनाएको भन्दै यसलाई छोटो अवधिमा धेरै उत्पादन हुने जातका विउको प्रयोगगरी व्यवसायीक कृषि खेतीमा लाग्न कृषकहरुलाई सुझाव दिनु भयो ।

महानगरपालिकाको वडा नं. २७ मा अर्को डिप बोरिङ जडानको लागि पहल गर्ने मन्त्री अंसारीले आश्वासन दिनु भयो । उहाँले शिक्षामा गुणस्तरीय विद्यार्थीको उत्पादन र कृषिमा व्यवसायीक खेतीबाट उत्पादन बृद्धि गर्ने कुरा नै अहिलेको लागि आवश्यकता रहेको बताउनु भयो ।

वीरगञ्ज महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष ह्दयनारायण प्रसाद कुर्मीले समयमा सिंचाई सुविधा नहुदा अप्ठारोमा परेका कृषकलाई सहयोग गर्ने उदेश्यले उदयपुरघुर्मीमा डिप बोरिङ जडानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अंसारीलाई धन्यवाद दिनु भयो । वडाका अन्य विकास निर्माणका काममा सहयोग गर्न मन्त्री अंसारीसँग अनुरोध गर्नुभयो ।

राज्यमन्त्री रहवर अंसारीको विशेष पहलमा संघीय सरकारको करिव ८० लाखको लागतमा निर्माण भएको उक्त डिप बोरिङले त्यस क्षेत्रका करिव ७० विगाहा जग्गामा सिंचाई सुविधा पुग्ने बोरिङ निर्माण उपभोक्ता समितिका अध्यक्ष मख्खु मियाँ अंसारीले बताउनु भयो ।

स्थानीयवासीहरुले वीरगञ्जको चिनी कारखाना सञ्चालनको लागि संघीय सरकारमा पहल गरिदिन राज्यमन्त्री अंसारीसँग आग्रह गरेका थिए । उनीहरुले वीरगञ्जमा चिनीकारखाना सञ्चालनमा आएमा पर्सा, बारा, रौतहट र सर्लाहीका कृषकहरुको लागि बरदान हुने बताएका थिए ।


सम्बन्धित समाचार