Logo

१४ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा भ्रष्टाचारको अखडा भएको जनप्रतिनिधिले आरोप लगाएका छन् ।

वीरगञ्ज महानगरपालिकाले रिक्त दरवन्दीहरुमा स्वयंसेवी शिक्षक नियुक्त गर्दा महाशाखा प्रमुख अरविन्दलाल कर्णले रकम लिएर असक्षम व्यक्तिलाई समेत नियुक्ति दिएको वीरगञ्ज महानगरपालिका वडा नंं ५ का वडा अध्यक्ष प्रदीप चौरसीयाले बताए ।

महानगरले वीरगञ्जका ४ वटा माध्यामिक विद्यालयमा अनिर्वाय अग्रेजी माध्यममा पढाउने र अन्य विद्याललयमा समेत शिक्षक अभाव भएकोले त्यसलाई परिपूर्ति गर्न १८० जना स्वयंसेवी शिक्षक भर्ना गरेको छ । स्वयंसेवी शिक्षक नियुक्तिमा महाशाखा प्रमुख कर्णले रकमको चलखेल गरी कमजोर शिक्षकलाई समेत नियुक्त गरेको वडा अध्यक्ष चौरसीयाको भनाई छ ।

वीरगञ्ज महानगरपालिकाले नेपाल सरकारले तोकेको तलव स्केलको ५० प्रतिशत पारिश्रमिक दिने शर्तमा १८० जना शिक्षक नियुक्त गरेको छ । महानगरले आधारभूत तहतर्फ १०६ जना र माध्यामिक तहमा ७४ जना शिक्षक भर्ना गरेको छ । आधा तलव लिएर काम गर्ने शर्तमा नियुक्त भएका शिक्षकसँग समेत न्यूनतम एक लाख सम्म घुस मागिएको वडा अध्यक्ष चौरसियाले बताए ।

महानगरका मेयर राजेशमान सिंहले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने र गुणस्तरीय शिक्षाका लागि आगामी आर्थिक बर्षको बजेटमा विशेष कार्यक्रम संचालन गर्ने योजना ल्याएको अवस्थामा महाशाखा प्रमुखको गलत प्रवृत्तिका कारण मेयरको योजनालाई समेत असफल पार्ने अवस्था देखिएको अध्यक्ष चौरसियाको भनाई छ ।

पूर्व मेयर विजय कुमार सरावगीको पालामा समेत मेयरको डरनै नमानी शिक्षक नियुक्ति र विद्यालयमा पठाइएका उपकरणमा घुस खाएको आरोप लगेका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण महाशाखाको प्रमुख रहुन्जेल वीरगञ्जको शिक्षामा कुनै सुधार हुन नसक्ने वडा अध्यक्ष चौरसियाले बताए ।

पूर्व मेयर सरावगीले समेत कर्णले शिक्षा क्षेत्रमा वदमासी गरेको भन्दै अन्यत्र सरुवा गर्ने प्रयत्न गरेका थिए । मन्त्रालयले नै कर्णको सरुवा नगरेपछि उनले पूर्व मेयरलाई समेत शिक्षामा असफल बनाएका थिए । पूर्व मेयर सरावगीले अग्रेजी शिक्षा अनिर्वाय गर्न ६ वटा विद्यालयमा शुरु गरेका थिए तर उनै कर्णको कारणले असफल भएको थियो ।

वीरगञ्जको विकासलाई नयाँ मोडलमा लैजान खोजेका मेयर राजेशमान सिंहलाई शिक्षा क्षेत्रमा सुधार गर्न अरविन्दलाल कर्ण वाधक देखिएको वडा अध्यक्ष चौरसियाको भनाई छ । मेयरको सोझो पनको फाइदा कर्णले लिएका छन उनीमाथि छानविन हुनुपर्छ, वडा अध्यक्ष चौरसियाले भने ।

विद्यालयको दरवन्दी मिलान, शिक्षकहरुको सरुवा र रिक्त दरवन्दीमा विद्यालय व्यवस्थापन समितिले शिक्षक नियुक्ति गर्दा समेत शैक्षिक महाशाखाका प्रमुख कर्णले रकम लिने गरेको गुनासो पटक पटक आउने गरको वडा अध्यक्ष चौरसियाको भनाई छ ।

वीरगञ्ज महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि वीरगञ्जको त्रिजुद्ध, माइस्थान, सिद्धार्थ र नृसिंह माध्यामिक विद्यालयमा अनिवार्य अग्रेजी माध्यममा पढाई संचालन गर्ने निणर्य गरेको छ । महानगरपालिका भित्र संचालनमा रहेका अन्य विद्यालयमा भने नेपाली भाषामा पढाई हुने शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले बताए ।

यसपटकको शिक्षकहरुको छनौट प्रकृयामा निष्पक्ष गरिएको र कुनै शिक्षकसँग रकम नउठाइएको अधिकृत राउतले बताए । परिक्षा लिएर निष्पक्ष रुपमा शिक्षक छनौट भएका छन् अधिकृत राउतले भने, “कुनै रकमको चलखेल भएको छैन, यो गलत प्रचार मात्र गरिएको छ ।”

वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले समेत शिक्षक नियुक्तिमा कुनै आर्थिक लेनदेन भएको भनेर आफू कहाँ कसैले उजुरी नगरेको बताए । यो पटक शिक्षक भर्ना गर्दा लिइने परिक्षाको प्रकृया नै बैज्ञानिक भएकोले कसैले चाहेर रकम खुवाएर मान्छे नियुक्ति गर्ने अवस्था नरहेको पौडेलको भनाई छ ।

वीरगञ्ज महानगरपालिकाले शिक्षा क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि यस पटक विशेष अभियान नै संचालन गर्न लागेका छौ, प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, “आधा तलव लिएर काम गर्ने स्वयंसेवी शिक्षकले रकम बुझाएर नियुक्ति पाएँ भन्नु नै पत्याउन नसकिने कुरा हो ।”

पूर्व मेयर विजय कुमार सरावगीको समयमा वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुखले हाकाहाकी रकम लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका थिए । तर आयोगले अहिले सम्म ती उजुरी माथि के कार्वाही भयो भनेर सार्वजनिक गरेको छैन ।

शिक्षक सरुवामा रकमको चलखेल भएपछि पूर्व मेयर सरावगीले शैक्षिक प्रशासन महाशाखाका प्रमुख कर्णलाई धेरै पटक मौखिक स्पष्टीकरण सोधेका थिए । मेयरको कडा निर्देशन विपरित कर्णले खाने मुखलाई जुघाँले छेक्दैन भन्दै विद्यालय र शिक्षकसँग रकम उठाउन छोडेका थिएनन्, , वडा अध्यक्ष चौरसियाले भने ।

वर्तमान मेयर राजेशमान सिंहले पनि शिक्षामा कुनै भ्रष्टाचार भए गरेमा कार्वाही गर्ने चेतानवी दिदै आएका छन् । मेयर निर्वाचित भएको एक बर्ष सम्म कुनै गुनासो नआएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णका बारेमा महानगर पालिकाका वडा अध्यक्ष प्रदीप चौरसियाले रकमको चलखेल भएर कर्णले शिक्षक नियुक्ति गरेको भन्दै शैक्षिक प्रशासन महाशाखाका प्रमुखमाथि छानविन गर्नुपर्ने कुरा उठाएका छन् ।

महाशाखा प्रमुख कर्णको बदमासीका वारेमा मैले प्रमुखज्यूलाई समेत जानकारी गराएको छु, वडा अध्यक्ष चौरसियाले भने, “उसलाई छानविन गरेर कार्वाही नगर्ने हो भने मेयरसावको समेत इज्जत प्रतिष्ठा लिन सक्छ ।”

कर्णलाई वीरगञ्जबाट विदा नगरे सम्म मेयर राजेशमान सिंहले चाहे जस्तो शैक्षिक क्षेत्रमा सुधार हुन सक्दैन, वडा अध्यक्ष चौरसियाले भने, “मेयरसाव जनताले महशुस गर्ने गरी शिक्षाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा सुधारको अपेक्षा गर्नु हुन्छ तर कार्यान्वयन गर्ने अधिकारी नै बदमास भएपछि कसरी सुधार हुन सक्छ ?”

मेयरसावको सोझोपन र विश्वासमाथि कर्णले कुठाराघात गर्न खोजेको वडा अध्यक्ष चौरसियाको भनाई छ । वडा अध्यक्ष चौरसियाका अनुसार कर्णबाट शिक्षक मात्र होइन अभिभावक र विद्यार्थी समेत मर्कामा परेका छन ।


सम्बन्धित समाचार