Logo

१४ असार,बारा ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट सार्वजनिक गरेको छ । उपमहानगरको आठौं नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले २ अर्ब १ करोड ८० लाख ४८ हजार ४११ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

उपपप्रमुख अधिकारीले सडक, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता राखेको बताउनुभयो । १ अर्ब ७० करोड ६ लाख ६५ हजार ५ सयको आयमा संघीय तथा प्रदेश सरकारको सिलिङ अन्र्तगतको सशर्त अनुदान ५१ करोड ४३ लाख मुख्य आयको श्रोत रहेको छ ।

संघीय र प्रदेश सरकारको विशेष अनुदान ३ करोड २५ लाख, समपुरक अनुदान ४ करोड ५० लाख, राजश्व बाँडफाँड, मालपोत, ढुँगागिट्टी बालुवा लगायत राजश्व बाँडफाँडबाट ३९ करोड ७३ लाख ३२ हजार ४ सय पनि उपमहानगरपालिको मुख्य आयमा देखाइएको छ ।

कूल बजेटमध्ये ३५ करोड १० रकम नगरस्तरीय ठुला योजनामा खर्च गर्न ५८ वटा योजना अघि सारिएको छ । बजेटमा २० लाख देखि २ करोड सम्मका योजनामा समावेश गरिएको छ । नगर स्तरीय योजनामा जीतपुर बकुलिया अमाडार खैरहवा फत्तेपुर बडहर्वा सडक कालोपत्रे देखि वडा नं. १४ मा सहिद पार्क निर्माण सम्मका योजना समेटिएका छन् ।

उपमहानगरपालिकाले आगामी वर्षको बजेटमा नगर प्रहरी भर्ना गर्ने योजनामा उल्लेख छ । जसका लागि ६० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । यस्तै महिला पुर्नस्थापना केन्द्र सञ्चालन गर्ने, युवा स्वरोजगार प्रोत्साहन कार्यक्रम, हरुवा चरुवाको तथ्याङ्क सङ्कलन जस्ता नयाँ कार्यक्रममा पनि बजेट विनियोजन गरेको छ ।

माध्यमिक र आधारभूत तहका विद्यालयहरूमा नगरस्तरीय स्वयम् सेवक शिक्षक राख्न ३ करोड २ लाख २५ हजार बजेट विनियोजन गरेको नगरले पालिका भित्रका ३५ वटा माध्यमिक, ३० वटा निम्न माध्यमिक र २५ वटा प्राथमिक गरी ७५ वटै विद्यालयमा यो सेवा सञ्चालन गर्ने भएको हो ।

जीतपुर सिमरा सहित ईनर्वासिरा, मनहर्वा, अम्लेखगञ्ज र डुमरवानमा बर्थिङ सेन्टर सञ्चालन, मानसिक स्वास्थ्य कार्यक्रम, प्रशूति र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवालाई समेत बजेटमा समेटेको छ । ६५ वर्ष पुरा गरेका महिला स्वयम् सेविकालाई बिदाइ गर्ने, स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने, मोबाइल ल्याब सञ्चालन गर्ने योजना सहितको बजेट व्यवस्था उपमहानगरले गरेको छ ।


सम्बन्धित समाचार