१५ असार,विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारको नेतृत्व गुमाएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन विफल भएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन्।
मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो। तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित थिइन्।
मत विभाजनको परिणाम घोषणा गर्दै सभामुख बाबुराम गौतमले विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको जानकारी सदनलाई गराएका थिए।
यसरी सरकार जोगाउन आवश्यक पर्ने ४७ मत जुटाउन एमाले नेतृत्वको सरकार विफल बनेको थियो। सरकारको नेतृत्वकर्ता एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जनाले पक्षमा मतदान गर्दा पक्षमा ४६ मात्रै पुगेको छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्द गर्न ४७ मत आवश्यक पर्छ।