Logo

१५ असार,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका स्वास्थ्य शाखाका संयोजकमाथि गैरकानुनी रुपमा सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुदा दायर भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक कौशलेन्द्र मिश्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंगलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुदा दायर गरेको हो ।

मिश्रले सरकारी सेवामा रहँदा एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा गैरकानुनी रुपमा आर्जन गरेकोले सोही रकम बराबरको बिगो माग गर्दै विशेष अदालतमा मिश्रविरुद्ध भ्रष्टाचार मुदा दायर गरिएको अख्तियारका प्रबक्ता भोला दाहालले जानकारी दिनुभयो । ०५७ साल असार ८ गते सरकारी सेवामा प्रवेश गरेका मिश्रले ०७८ साल कार्तिक २६ गतेसम्मको अवधिमा दुई करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको अख्तियारको भनाइ छ ।

यस अवधिमा उहाँले एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा गैरकानुनी रुपले आर्जन गरेका थिए । बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक अधिकृत छैठौँ, हाल जनस्वास्थ्य निरीक्षक÷अधिकृत सातौँ तहका मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा उनले गैरकानुनी रुपमा सम्पति आर्जन गरेको पुष्टि भएकोले मुदा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

उक्त सम्पति मिश्रले आफ्ना दुई श्रीमतीहरू सरोजकुमारी र तुलसीकुमारी मिश्र शर्माको नाममा राखेको देखिएको हुँदा निजहरुको नाममा रहेको सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र सरोजकुमारी र तुलसाकुमारी शर्मा मिश्रलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको प्रबक्ता दाहालले बताउनुभयो ।

यता, मिश्रले भने आफूविरुद्ध कुनै पनि मुदा दायर नभएको बताएका छन् । उनले आफू बलरा नगरपालिका र पर्साको पोखरिया नगरपालिकाको स्वास्थय संयोजकको रुपमा काम गरिसकेको र हाल बहुदरमाई नगरपालिकाको स्वास्थथय शाखा संयोजक भएको बताउँदै आफूविरुद्ध मुद्दा दायर नभएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले आफू नगरपालिकाबाट चार दिनको बिदा लिएको बताउँदै बिदा पछि कार्यालयमा फर्किने बताउनुभयो । मिश्र अहिले बहुदरमाई नगरपालिकामा कार्यरत रहेका छन् ।


सम्बन्धित समाचार