Logo

१५ असार, काठमाडाैं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको छ। गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई शुक्रबार सजाय सुनाएको हो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनको घरजग्गादेखि बैंक मौज्दातसम्म जफत हुने फैसला गरेको छ।

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार अख्तियारले मागदाबी लिएबमोजिम खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने भएका छन् । अख्तियारले २३ पुस ०७५ मा खड्काविरुद्ध मुद्दा चलाएको थियो। जसमाथि करिब पाँच वर्षपछि फैसला आएको हो।

यस मुद्दाका अन्य प्रतिवादीहरूलाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकोमा उनीहरूको नाममा रहेको सम्पत्ति पनि जफत हुने फैसला भएको छ। गोपालसँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नम्बर १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ।

यसै मुद्दाकी अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति पनि जफत हुने भएको छ। अख्तियारले सिजी डेभलपर्स प्रालिलाई पनि प्रतिवादी कायम गरेकोमा उक्त कम्पनीको सम्पत्ति पनि जफत हुने फैसला भएको छ।


सम्बन्धित समाचार