Logo

१५ असार, वीरगञ्ज । अदालतको आदेशमा रोक्का भएको क्रसर उद्योग विक्रि गरेर ठगी गरेको आरोपमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव पर्सा क्षेत्र नंं ३ का पूर्व सांसद हरिनारायण प्रसाद रौनियारलाई काठमाडौं प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।

बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. १४ बस्ने शोभाराम यादवले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमीत रौनियार विरुद्ध १ करोड ६५ लाख रुपियाँ ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेका थिए । यादवको उजुरीको आधारमा प्रहरीले हरिनारायण रौनियारलाई पक्राउ गरेको हो ।

रौनियार बाबु छोराले कोहलपुर बस्ने शोभाराम यादवलाई २०७६ साल माघमा बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. ६ मा रहेको जयभोलेबाबा क्रसर उद्योग १ करोड ६५ लाखमा विक्री गरी लेनदेनको कागज गरेका थिए ।

रौनियारले उक्त क्रसर उद्योग यादवलाई विक्रि गर्नुभन्दा २ महिना अघिनै जिल्ला अदालत बाँकेले विक्री नगर्नु भनेर आदेश दिएको रहेछ । अदालतले विक्रि नगर्नु भनेर आदेश दिएको थाहापाएपछि झुक्काएर हरिनारायण रौनियारले उक्त क्रसर उद्योग शोभाराम यादवलाई विक्रि गरी १ करोड ६५ लाख रकम बुझेका थिए ।

कोहलपुर निवासी शोभाराम यादवले पटक पटक आफूसँग लिएको रकम फिर्ता गर्न पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमीत रौनियारलाई ताकेता गरेका थिए । तर रौनियार बावु छोराले लामो समय सम्म रकम नदिएपछि २०८० बैशाख ३ गते शोभाराम यादवले उनीहरुको विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगी मुद्धामा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।

यादवले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले रौनियार बावुछोरालाई पक्राउ गर्न जिल्ला अदालत बाँकेसँग अनुमति मागेको थियो । प्रहरीको माग बमोजिम जिल्ला अदालत बाँकेले २०८० बैशाख १० गते पप्पु कन्स्ट्रक्सनका सञ्चालकद्धय हरिनारायण रौनियार र उनका छोरा सुमीत रौनियारलाई पक्राउ गर्न आदेश दिएको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।

रौनियार बावुछोरा बाँके निवासी नभएकोले उनीहरु पर्सा र काठमाडौंमा बस्ने गरेको सूचनाका आधारमा खोजतलास गरी बाँके प्रहरीलाई बुझाउन बैशाख ११ गते जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरिएको प्रहरी उपरिक्षक राठौरले जानकारी दिनु भयो ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालकद्धय हरिनारायण रौनियार र उनका छोरा सुमीत रौनियारको खोजतलास भइरहेको अवस्थामा प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको शुक्रवार पक्राउ गरेको हो । रौनियारका छोरा सुमीत रौनियार अझै फरार रहेको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।।

काठमाडौंमा प्रहरीले पक्राउ गरेका हरिनारायण रौनियारलाई शनिवार जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाइने बाँकेका प्रहरी उपरिक्षक राठौरले जानकारी दिनुभयो । फरार रहेका सुमीत रौनियारलाई प्रहरीले खोजतलास गरिरहेको छ ।

२०७४ सालको निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधि सभासदस्यमा निर्वाचित भएका रौनियार विरुद्ध जब्दीघाट पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेर पुल भाच्चिएको आरोपमा अख्तियारले २०७५ असोज १९ गते विशेष अदालतमा मुद्धादायर गरेपछि निलम्बनमा परेका थिए ।

अख्तियारले पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायत आरोपमा तत्कालीन सांसद हरिनारायाण रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । उनी निलम्वित भएको अवस्थामा उनको कार्यकाल सकिएको थियो ।


सम्बन्धित समाचार