Logo

१६ असार,वीरगञ्ज । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा एक २४ वर्षीया महिला र उनकी २ वर्षकी छोरी मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया माला भन्ने कविता देवी र उनकी २ वर्षीया छोरी आरुही कुमारी घरमै मृत अवस्थामा फेला परेका हुन् । आरुहीको शव पंखामा झुन्ड्याइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढी मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताउनुभयो ।

घटना गए राति तीन बजेको भए पनि हत्या वा आत्महत्या भन्ने बारेमा अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । यता मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह सपरिवार घटना पछि फरार भएका छन् ।

माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका पिता विजय शङ्कर साहले घटनाबारे जानकारी हुने बित्तिकै घटनास्थल पुगे पनि प्रहरीले आफूलाई घटनास्थलमा जान नदिएको बताउनुभयो ।

छोरी र ज्वाइँ बिच पटक पटक विवाद हुँदा आफूले मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको बताउँदै उहाँले ज्वाइँ धिरेन्द्रले पटक पटक दाइजो माग्दै आएको उल्लेख गर्नुभयो । कबितालाई पटक पटक दाईजोकै निहुमा कुटपिट गर्ने गरेको उहाँको आरोप छ । कबिता र उनकी छोरीको हत्या भएको बिजयको आरोप छ ।


सम्बन्धित समाचार