Logo

१८ असार,वीरगञ्ज । नारायणी अस्पतालको सरसरफाईको जिम्मेवारी वीरगञ्ज महानगरपालिकाले लिने भएको छ । मेयर राजेशमान सिंहले आशाराम हस्पिटलको १० औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै साउन १ गतेदेखि नारायणी अस्पतालको सरसफाईको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने जानकारी दिनुभएको हो ।

वीरगञ्जमा साना अस्पतालहरु धेरै खुलेको बताउँदै मेयर राजेशमान सिंहले स्तरीय सेवा सहितका अस्पताल स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
धार्मिक पर्यटन, पर्यटकीय स्थल सुधार मात्रै नभई वीरगञ्जका सबै पक्षमा सुधार ल्याउने बताउँदै उहाँले वीरगञ्ज बनाउने जिम्मा सबैको भएको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै नारायणी अस्पतालका जेनेरल फिजिसियन डाक्टर निरज सिंहले वीरगञ्जलाई मेडिकल टुरिज्म सेन्टर बनाउनुपर्ने सुझाव दिनुभएको छ । मधेश विश्व विद्यालयका उपकुलपति डाक्टर दिपक शाक्यले सडक सरसफाईसँग स्वास्थ्य क्षेत्रमा रुपान्तरण आवश्यक भएको बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा आशाराम हस्पिटलले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम मार्फत निःशुल्क प्रसुती सेवा शुरु गरेको छ । प्रतीक दैनिकका प्रधान सम्पादक जगदिश शर्माले आमा सुरक्षा कार्यक्रम राम्रो भएन भनेर लेख्नुपर्ने अवस्था नआओस भन्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर गर्दै डाक्टर सागरमान सिंह अमात्य र डा. पिंगला अमात्यलाई र शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै डाक्टर दिपक शाक्यलाई सम्मान समेत गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम राखिएको म्यानेजिङ डाईरेक्टर निभा दासले जानकारी दिनुभयो । पहिलो दिन आईतबार अस्पताल परिसरमा रक्तदान कार्यक्रम भएको थियो ।

 


सम्बन्धित समाचार