१९ असार, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जिल्ला प्रशासन कार्यालय पर्सामा आईपुगेको छ । जिल्ला प्रशासन कार्यलय पर्सामा नागरिकता बनाउन आउनेहरुसँग आर्थिक चलखेल भईरहेको समाचार प्रकाशन भएपछि नियमित अनुसन्धानको लागि अख्यिार आयोगको हेटौँडास्थित कार्यलयको टोली पर्सा आईपुगेको हो ।
नयाँ ऐन अनुसार जन्मसिद्ध नागरिकका सन्तानको वंशज नागरिकता बनाउन आउने क्रममा जिल्ला प्रशासन कार्यालयमा टोकन अनुसार नागरिकता वितरण नभएको र नागरिकता वितरणमा आर्थिक चलखेल भईरहेको उजुरी आएको भन्दै अख्तियारले निगरानी बढाएको हो ।
सोही गुनासोको यथार्थ पत्ता लगाउन हेटौँडास्थित कार्यलयको टोली हिजो साँझ पर्सा आएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले अख्तियारको टोली नियमित अनुगमनको लागि आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भीडभाड हुने ठाउँहरुमा अख्तियारको टोली अनुगमनका लागि आईरहन्छ । अख्तियारको हेटौँडास्थित कार्यलयबाट आएको टोलीले पर्साका प्रमुख प्रशासकिय अधिकृत विजय श्रीवास्तवसँग सोधपुछ गरेको समाचार स्रोतको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणिकरण गरेसँगै जिल्ला प्रशासन कार्यलय पर्सामा पनि नागरिकता लिन आउनेहरुको सङख्यामा उल्लेख वृद्धि भई भिडभाड बढेकाले अख्तियारको टोली आएको उहाँको भनाइ थियो ।
जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता वितरणको क्रममा भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले टोकन सिस्टम लागु गरेको छ । तर भित्रभित्रै सेटिङ्ग मिलाएर विचौलिया मार्फत कर्मचारीहरुले नागरिकता लिनेहरुसँग पैसा असुली रहेको समाचार बाहिर आएको थियो ।
नागरिकता वितरणको क्रममा १५ देखि २५ हजार रुपैयासम्म विचौलियाहरुले सेवाग्राहीबाट पैसा लिइरहको भनी अख्तियारमा परेको उजुरीको आधारमा आयोगले निगरानी गरेको हो ।