Logo

१९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी किनारमा वृक्षारोपण गर्न सुरु गरेको छ । नदी संरक्षणका साथै सफाईका लागि नदीको किनारमा महानगरले वृक्षारोपण गर्न सुरु गरेको हो ।

नदीको दुबै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले कटानबाट पनि बचाउने हुँदा नेपाल भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य मंगलबारदेखि सुरु गरिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन इकाई, भरतपुर चितवन) र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरले नदी किनारमा वृक्षारोपण सुरु गरेको हो ।वर्षाको समयमा आउने बाढीले सिर्सिया नदी कटान गर्नुका साथै यस क्षेत्रमा डुबानको समस्या निम्त्याउने गरेको छ ।

बाँस हुर्किएपछि नदी संरक्षण हुनुका साथै कटान पनि नियन्त्रणमा आउने महानगरका सरसफाई प्रमुख सर्फुद्दिन मियाँ बताउँछन् । महानगरले नदी सफाईका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न कडाइ गर्नुका साथै नदी फोहोर गर्नेलाई कारबाही गर्दै आएको छ ।

नदीको दुवैतर्फ किनारमा वृक्षारोपण गर्दा नदी कटान रोकिने मात्रै नभई पर्यावरण संरक्षणमा समेत टेवा पुग्ने महानगरले विश्वास लिएको छ । वीरगञ्ज हरियाली बनाउने अभियान अन्तर्गत महानगरले नदी किनारका साथै सार्वजनिक खाली जग्गामा वृक्षारोपण गर्ने कामलाई तिब्रता दिएको हो ।


सम्बन्धित समाचार