Logo

२० असार,काठमाण्डौ । नेपाली कांग्रेसले असार २७ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको सभापतिसहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको बैठकले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो ।

यसअघि कांग्रेस केन्द्रीय समिति बैठक गत वर्ष २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । असार २७ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिनुभएको छ ।

कांग्रेस पार्टी विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ । केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको छ । कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षासमेत गरेको छैन् ।

बुधबारको बैठकमा शीर्ष नेताहरुबीच जिल्ला सभापतिको भेलालगायत विभिन्न विषयमा पनि छलफल भएको बताइएको छ । साधारण र क्रियाशील सदस्यता, विभिन्न तहका सम्मेलनलगायतका विषयमा छलफल गर्न कांग्रेसले बिहीबार जिल्ला सभापतिहरूसँग केन्द्रीय कार्यालय सानेपामा छलफल गर्दैछ ।कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि जिल्लामा फारमसमेत पठाइसकेको छ ।


सम्बन्धित समाचार