Logo

फाइल तस्विर

२०असार,वीरगञ्ज । भारतीय पक्षले गण्डक नहरमा सम्झौताको आधाभन्दा पनि कम अर्थात् ४ सय क्युसेक मात्र पानी दिएको छ । साताअघि नहरमा थोरै मात्र पानी दिएर नहरको मर्मत गरेको भारतीय पक्षले बुधबारदेखि नहरमा ४ सय क्युसेक पानी दिन थालेको हो ।

नारायणी सिँचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहका अनुसार भारतीय पक्षले बुधबार बिहानदेखि नहरमा ४ सय क्युसेक पानी दिएको हो । भारतको झमरी नदीमा नहरको संरचनामा लिकेज भएको भन्दै भारतीय पक्षले त्यहाँ करिब २ साता नहरको मर्मतसम्भारको काम सम्पन्न गरेपछि हाल नहरमा ४ सय क्युसेक पानी दिन थालेको हो ।

भारतसँगको गण्डक सम्झौता अनुसार वर्षेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिइसक्नु पर्छ । तर यस वर्ष धान बाली सिजनमा भारतीय भूमिमा २ सय २० आरडीमा नहरको मुख्य संरचनामै लिकेज भएपछि भारतीय पक्षले त्यहाँ नहर मर्मत सम्भारको काम गरेको थियो ।

हाल नहरको मर्मत सम्भार भइसके पनि तत्काललाई नहरमा भार नपरोस् भनी भारतीय पक्षले सम्झौताभन्दा आधा परिमाणमा पानी दिइरहेको साह बताउँछन् । ‘मर्मत गरिएको नहरको संरचनामा भार नपरोस् भनी भारतीय पक्षले यसरी कम पानी दिएको बताइरहेको छ,’ उनले भने, ‘आउँदो एक साताभित्रै सम्झौता बमोमिज पूरै पानी दिने प्रतिबद्धता भारतीय पक्षले जनाएको छ ।’

असार १५ देखि भारतीय पक्षले नहरमा २ सय क्युसेक मात्र पानी दिएको थियो । हाल ४ सय क्युसेक पानी आएपछि बुधबार नहरको ११ नम्बर ब्लक बाराको जमुनी क्षेत्रसम्म पानी पुगेको साहले बताए । बुधबार राति सम्म १२ नम्बर ब्लक अर्थात बारा र रौतहटको सीमा क्षेत्र सम्म पानी पुग्ने साहको अनुमान छ ।

नहरमा आधा मात्रै पानी आए पनि पर्सा र बाराका नहरमा आश्रित किसानले धेरै हदसम्म रोपाइँ गर्न भ्याउने साह दाबी गर्छन् । गण्डक ब्यारेजको निर्माण भारतले आफैं गरेको र सञ्चालन पनि भारतीय पक्ष आफैंले गर्छ । नहर निर्माण भएदेखि नै भारतीय पक्षले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लगेको छ ।

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किमी रहेको छ ।

गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भए पनि वर्षेनि कुनै न कुनै समस्या देखाउँदै भारतले सम्झौता अनुरुपको ८ सय ५० क्युसेक पानी नेपाललाई दिने गरेको छैन । साभारःकान्तिपुर


सम्बन्धित समाचार