Logo

२३ असार, मकवानपुर । मकवानपुरको मनहरीमा दुईवटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा जलेर तीजनाको मृत्यु भएको छ ।

दुईजना घाईते भएका छन् । हेटौंडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँवस्तीमा आज बिहान करिब १ बजेको समयमा ना ६ ख ६६६७ नम्बरको ट्रक र ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किएर भएको आगलागीमा तीनजनाको जलेको अवस्थामा शव निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा दुवै ट्रक क्षतिग्रस्त भएको छ । घटनास्थलमा खटिएका प्रहरीको अनुसार दुर्घटना स्थलबाट तीन टुक्रा शव निकालिएको र तीनै जनाको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

दुईजना घाईते हुनेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर–३ का अन्दाजी ३०/३५ बर्षका विवेक तामाङ र अर्का मनहरी गाउँपालिका वडा नम्बर –३ का बर्ष ३०/३२ का अर्जुन कुमार प्रजा रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

घाईतेहरुलाई भरतपुर स्थित पूरानो मेडिकल कलेजमा उपचारका लागि पठाईएको छ । उनीहरुको अवस्था मध्यम रहेको मनहरी प्रहरीले जनाएको छ । ना ६ ख ६६६७ का चालक राप्ती नगरपालिका वडा नम्बर ४ का रेहान रुम्बा तामाङ रहेको खुलेको प्रहरीले जनाएको छ ।

ना ६ ख ६३१ नम्बरका चालकको भने पहिचान भएको छैन । दुर्घटनापछि लागेको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले निभाएको मनहरी प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अवरुद्ध सडक अहिले खुलेको इलाका प्रहरी कार्यालय मनहरीले जनएको छ ।


सम्बन्धित समाचार