Logo

२३ असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा मिटरब्याजी विरुद्ध परेको १ हजार ३ सय २१ उजुरीहरुमध्ये ९१ वटा उजुरीमाथि फछ्र्योट गरिएको छ ।

अनलाइनबाट दर्ता गराईएका उक्त उजुरीहरुमध्ये ९१ वटा उजुरीमाथि छलफल गरि पिडितको पक्षमा फछ्र्योट गरिएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार छलफलका क्रममा सहमतिमा नआएपछि एउटा उजुरीमा भने मुद्दा दर्ता गरिएको छ ।

दर्ता भएका उजुरीमध्ये दुई सय ५५ उजुरीको छानबिन गर्दा ९१ वटामा दुवै पक्षबीच सहमति भई फछर्योट भएको उहाँले जानकारी दिनुभयो । मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट नयाँ उजुरी दर्ता हुने क्रम जारी रहेको र पुराना उजुरीको सम्बन्धमा क्रमशः छानबिन गरिरहेको उहाँको भनाइ छ ।

दर्ता हुने उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा जमिन सम्बन्धी मिटरब्याज पीडितको उजुरी बढी रहेको जिल्ला प्रशासन कार्यलय पर्साले जनाएको छ । कसैकसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उहाँले बताउनुभयो ।

कार्यलयमा परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

छानबिनका क्रममा लेनदेन गर्नेको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको अनुसन्धान गर्ने गरिएको उहाँको भनाइ छ ।

 


सम्बन्धित समाचार