Logo

२४ असार काठमाडौं। नेपाली फिल्म ‘गुराँस’ले युरोपेली मुलुक चेक गणतन्त्रमा आयोजित दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको छ । गत बुधबार वर्ल्ड प्रिमियर भएको फिल्मले प्रोक्सिमा स्पेसल जुरी पुरस्कार जितेको हो ।

फिल्मले हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट दार्जिलिङको बदलिंदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । दुई पुस्ताका चरित्रमार्फत छोरी र आमाबुबाको अलग चिन्तालाई निर्देशक सौरभ राईले प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

उनले युरोपको प्रतिष्ठित अवार्ड जित्नु आफ्ना लागि गर्वको क्षण भएको बताए । उनले भने, ‘स्क्रिनिङमा पनि दर्शक तथा जुरीले रुचाएको महसुस गरेका थियौं । अन्त्यमा अवार्ड जित्दा साँच्चिकै खुसी लागेको छ ।’ वर्ल्ड प्रिमियरमा सहभागी हुन मेनुका प्रधान पनि प्राग पुगेकी थिइन् । उनले अन्तर्राष्ट्रिय फेस्टिभलमा आफ्नो यो पहिलो अनुभव हुने भन्दै फेस्टिभलमा धेरैभन्दा धेरै फिल्म हेर्ने योजना रहेको बताएकी थिइन् ।

‘गुराँस’लाई लोआइक्यु प्रोडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुँलाटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय छ ।

फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । फिल्मको प्राविधिक काम मुम्बईमा गरिएको थियो ।


सम्बन्धित समाचार