२५ असार,चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ वटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न ठाउँबाट ती बाघको उद्धार गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका र घाइते भएका बाघलाई उद्धार गरिएको उहाँले बताउनु भयो । उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ ।
बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एक÷एक वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
उद्धार गरी ल्याइएका कतिपय बाघ उपचारको क्रममा मर्नेगर्छन् भने कतिपयलाई बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ । यस वर्ष उद्धार गरिएकोमा चार वटा भाले र दुईवटा पोथी बाघ रहेको निकुञ्जले जनाएको छ ।गएको आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते सात वटा बाघको उद्धार गरेको थियो ।
जसमध्ये दुईवटा उपचारका क्रममा मरेका, चार वटाको आनीबानीमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो । एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उहाँले बताउनुभयो ।
यस वर्ष उद्धार गरिएका बाघमध्ये दुईवटा पोथी र पाँचवटा भाले बाघ रहेका छन् ।निकुञ्जको खोरमा बाघको सङ्ख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ ।
निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा तीन वटा र सौराहामा रहेको खोरमा दुईवटा बाघ रहेका छन् । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ वटा बाघ छन् ।रासस