Logo

२५ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिाका मेयर राजेशामान सिंहले शिक्षामा वीरगञ्ज महानगरपालिकालाई नमूना बनाउने बताउनु भएको छ । शिक्षामा सुधार नचाहने केही तत्वहरुले विद्यालयमा राजनीति गर्न खोजेको भन्दै शिक्षामा परिवर्तनका कुनैपनि सम्झौता आफूले नगर्ने बताउनु भएको छ ।

नारायणी एफ.एम.ले आज वडा नम्बर १२ को सुरजीदेवी माध्यामिक विद्यालयमा आयोजना गरेको ‘बालबालिकासँग मेयर’ कार्यक्रममा उहाँले शिक्षामा सुधार गर्न कै लागि आगामी आर्थिक बर्षका लागि शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट २० करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको शिक्षामा गुणस्तर बढाई दक्ष जनशक्ति उत्पादनमा जोड दिईने बताउनुभयो । उहाँले आउने आर्थिक बर्षदेखि महानगरपालिका भित्रका ९१ वटा सामुदायिक विद्यालयलाई एकरुपता ल्याउनका लागि एउटै रंगको बनाउनु बताउनुभयो । वीरगञ्जका १० वटा सामुदायिक विद्यालयहरुमा अहिले पिउने पानीको व्यावस्था गरिएको र केही दिनमा पानीको समस्यापनि समाधान हुने दावी गर्नुभयो ।

सामुदायिक विद्यालयहरुका प्रयोगशालाहरु सबै सञ्चालनमा ल्याईने बताउनुभयो । विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार नआउनुमा केही शिक्षकहरुको बदमासी मुख्य समस्याको रुपमा आफूले जानकारी पाएको भन्दै शिक्षामा सुधार हुन नदिने केही शिक्षकहरुले राजनीति गरिरहेकोले त्यस्ता शिक्षकहरुलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो ।

कार्यक्रमपछि महानगरपालिका प्रमुख सिंहले विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रलाई विद्यार्थीहरुले गरेका गुनासो सम्बन्धमा विद्यार्थीहरुकै अगाडि सुधार गर्न निर्देशन दिनुभयो । उहाँले विद्यालयको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापकको हुने भएकोले समस्या समाधान गर्न र कुनै समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिनुभयो ।


सम्बन्धित समाचार