Logo

२६ असार, वीरगञ्ज । वीरगञ्ज नगर क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाउदै वीरगञ्जको परिचय बदल्ने अभियानमा लागेका नगर प्रमुख राजेशमान सिंंह ग्रिनसिटीले सडक अतिक्रमण गरी बनाएको संरचना नटाएकोमा आलोचित भएका छन् ।

वीरगञ्जको मुख्य नाला सरसफाई र नालालाई अतिक्रमण गरेर बनाइएका संरचना हटाएपछि मेयर सिंहको प्रंशसा भएको छ । तर उनले सल्लाहकार नियुक्त गरेका जयप्रकाश खेतानले संचालन गरेको ग्रिन सिटी संस्थाले सार्वजनिक सडक अतिक्रमण गरेर बनाइएको संरचना किन नहटाइएको हो भनेर स्थानीयवासीले प्रश्न गर्न थालेका छन् ।

वीरगञ्जलाई सौन्दर्यको शहर बनाउने उदेश्यका साथ संचालन गरेका अभियानलाई सफल पार्न पनि मेयर सिंहले ग्रिन सिटीले बनाएको संरचना हटाउनु पर्ने भनाई स्थानीयवासीको छ ।

सार्वजनिक नाला अतिक्रमण गरेर बनाइएका व्यापारीक भवनहरु, व्यक्तिका घरहरु र हरिखेतान क्याम्पसको संरचना समेत हटाउन डोजर चलाएका मेयर सिंहले उनको कार्यको चौतर्फी प्रशंसा हुने गरेको थियो ।

तर आर्दशननगरको मुख्य चोकमा सडक अवरुद्ध हुनेगरी राखिएको ग्रिन सिटी सामुदायिक प्रहरी विट र राष्टबैक नजिक सडक चोकमा बनाइएको ग्रिनसिटी सामुदायिक संस्थाको संरचना महानगरपालिकाले नहटाएपछि यसको चौतर्फी विरोध भएको छ ।

वीरगञ्जको सरसफाई र सौन्दर्यकरणमा भएका कामको वीरगञ्जमा मात्र होइन देशका विभिन्न ठाउँमा चर्चा हुने गरेको छ । कतिपय पालिकाका प्रमुखहरुले सस्तो लोकप्रियताको लागि क्षणीक काम गरेपनि वीरगञ्जका मेयरले प्रचारबाजी नगरी राम्रो काम गर्न थालेका छन भन्ने सन्देश गइरहेको बेला मेयर नजिक भएकाहरुले दोहन गरेको सार्वजनिक सम्पती समेत महानगरपालिकाले जोगाउनु पर्छ भन्ने धारणा सर्वसाधारणको छ ।

बिगत केही बर्षदेखि ग्रीनसिटिको नाममा व्यापारी जयप्रकाश खेतानले वीरगञ्जको मुख्य ब्यापारिक क्षेत्र आदर्शनगर चोकलाई नै चर्चेर नगरपालिकासंग समेत अनुमति नलिइ आफ्नै मनोमानी ढंगले दुई ठाउँमा अस्थायी टहरा बनाए पछि त्यस क्षेत्रका स्थानीय बासिन्दाले ती दुबै टहरा तत्कालै हटाउन जोडदार माग गरेका हुन ।

दुबै टहरा सडकपेटिमै निर्माण गरिएको छ जसले गर्दा सडकपेटी बाट आउजाउ गर्ने बटुवाहरुले बर्षौदेखी कष्ट खेप्दै ओहोर दोहोर गरिरहेका छन ।

केही दिन अघिमात्र काठमाडौका मेयर बालेन शाहले काठमाडौमा सडक अतिक्रमित गरि बनाइएका प्रहरी चौकिहरु हटाइएको नजिरदिदै एक ब्यपारिले भने , अब महानगरले तत्काल नहटाए आदर्शनगरका सम्पूर्ण स्थानीयहरु मिलेरै भए पनि ग्रीनसिटिलाइ यहाँबाट स्थानान्त्रण गर्नु पर्छ, यो टहराले गर्दा पैदल यात्रीहरुलाइ धेरैनै समस्या भइरहेको छ ।

बिबाद्स्पद छबिका खेतान ग्रीनसिटी सामुदायिक प्रहरीका आजिबन अध्यक्ष पनि छन । शुरुमै ग्रीनसिटी गठन गर्दा उनले अत्यन्तै चलाखिपुर्ण ढंगले सस्थाका पदधिकारी एबम सदस्यहरुमा आफ्नै परिबार र वरपरकालाई राखेर आफ्नाे अध्यक्ष पदलाई आजिबन सुरक्षीत रहनेगरी बन्दोबस्त मिलाएका छन भन्ने आरोप स्थानीयवासीको छ ।

यद्यपि ग्रीन्सिटी सामुदायिक प्रहरी संस्था रहेपनी सामुदायिक प्रहरी सेवामा रहेका प्रहरीलाई समेत जयप्रकास खेतानले व्यक्तिगत फाइदाको लागि प्रयोग गर्ने गरेको गुनासो आर्दशनगरका व्यापारीको छ । खेतानको गतिविधि राम्रो नदेखेपछि विरोध गर्ने व्यवसायीको अफिस र पसलमा प्रहरी पठाउने र दुख दिने गरेको भनाई आर्दशनगरका व्यापारीको छ ।


सम्बन्धित समाचार