Logo

२६ असार, वीरगञ्ज । मोटरसाइकल दुर्घटनामा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर वीरगञ्ज तनावग्रस्त छ । विभिन्न विद्यार्थी संगठनहरुले आह्वान गरेको बन्दले वीरगन्जका अधिकांश शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसले सञ्चालन गर्ने परीक्षाको परीक्षा केन्द्र जिल्ला बाहिर सारिएको र परीक्षा केन्द्रमा परीक्षा दिएर फर्किने क्रममा ठाकुरराम क्याम्पसको बिबिएस तेश्रो बर्षमा अध्ययनरत विद्यार्थीको मोटरसाईकल दुर्घटनामा परेर मृत्यु भएपछि विद्यार्थीहरुले मंगलबार पनि वीरगन्जका शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेका हुन् ।

परीक्षा केन्द्र सारिएको र विद्यार्थीको दुर्घनामा परेर मृत्यु समेत भएपछि ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनलाई दोष लगाउदै परीक्षा केन्द्र वीरगन्जमै हुनुपर्ने माग राखेर शैक्षिक संस्था बन्द गरेका हुन् ।

सोमबार संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै आज शैक्षिक संस्था बन्दको आह्वान गरेको थियो । मंगलबार बिहानैदेखि आन्लोनरत विद्यार्थीहरुले खुलेका विद्यालयहरु समेत बन्द गराएका छन् ।

बन्द आह्वानले विद्यालयहरुमा प्रभाव परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बन्दले अधिकांश विद्यालयहरु बन्द रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । विद्यार्थी संगठनहरु आज ठाकुराम बहुमुखी क्याम्पसमा भेला भएर शैक्षिक संस्था बन्द गराउदै हिडेका छन् ।

अहिले क्याम्पस प्रशासनले छलफलका लागि बोलाएको भएपनि समय भने नतोकिएको अखिल क्रान्तिकारीका नेता मिरोज अन्सारीले जानकारी दिनुभयो । विद्यार्थीहरु परीक्षा केन्द्रमा पनि गएर अवरोध गर्ने तयारी गरेको जनाएका छन् । परीक्षा केन्द्रमा जाने तयारी गरेको जानकारी पाएपछि प्रहरीले पनि विद्यार्थीहरुलाई सम्झाउने कोशिश गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीहरुले बन्दको आह्वान गरेका छन् । अहिले फेरी परीक्षा केन्द्रमा पनि जाने भन्ने जानकारी पाएपछि बारा प्रहरीसँग पनि समन्वय भईरहेको छ । विद्यार्थीहरुलाई पनि सम्झाउने प्रयासमा छौं ।

यसैबीच परीक्षा दिएर फर्किने क्रममा विद्यार्थीको मोटरसाईकल दुर्घटनामा परी निधन भएको घटनाप्रति क्याम्पस प्रशासनले दुःख व्यक्त गरेको छ ।

परीक्षा केन्द्र वीरगन्जमै राख्न जिल्ला तहका राजनीतिक नेतृत्वसँग छलफल गरी क्याम्पसले पहल गर्दा समेत परीक्षा नियन्त्रण कार्यालयको बोर्डले अस्वीकार गरेको र परीक्षाको मिति भन्दा तीनदिन अगाडि मात्रै परीक्षा केन्द्रको बारेमा क्याम्पसलाई जानकारी गराएको भन्दै परीक्षा केन्द्र सार्न क्यम्पसको कुनै भूमिका नरहेको स्पष्ट पारेको छ ।

क्याम्पस प्रमुख रञ्जित यादवले ठाकुरराम क्याम्पसमा परीक्षा केन्द्र राख्न नदिएपनि वीरगन्जका अन्य क्याम्पसहरुमा केन्द्र राख्न पहल गरिएको र यहाँका निजी तथा सामुदायिक क्यम्पसहरुले परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै पन्छिएपछि वीरगन्ज भन्दा बाहिर परीक्षा केन्द्र गएको स्पष्ट पार्नुभयो ।

उहाँले ठाकुरराम बहुमुखी क्याम्पसको बाहिर बदनाम मात्रै गर्ने गरेको भन्दै विद्यार्थीहरुले वीरगन्जमै परीक्षा केन्द्र राख्नुपर्ने गरेको माग स्वभाविक रहेको बताउनुभयो । समस्याको विषयमा विद्यार्थीहरुसँग आफू निरन्तर संवादमा रहेको र समाधानको विकल्प संवाद र सहमति नै भएकोले निरन्तर छलफलबाट नै समस्या समाधान गर्न सबैपक्षसँग आग्रह गर्नुभएको छ ।


सम्बन्धित समाचार