Logo

२६ असार,बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुर टोलमा निर्माणधीन खानेपानी आयोजना अलपत्र परेको छ । करिब २५ वर्षदेखी निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजना ९५ प्रतिशत भौतिक पूर्वाधार तयार पुरा भएपनि यसको संरक्षण गर्ने निकाय मौन बसेको कारण खानेपानीको आयोजना अलपत्र परेको हो ।

सम्बन्धित निकायको निष्क्रियताले करोडौँको निर्माणाधीन खानेपानी आयोजना अढाई दशकदेखि अलपत्र रहेको स्थानियको भनाई छ । सो टोलका वडा नम्बर ३ र १० को करिब एक हजार एक सय घरधुरीका ११ देखि १२ हजार जनसङ्ख्या भएका स्थानीयलाई लक्षित गरी निर्माण कार्य पुरा भएपनि घरघरमा पानी पुग्नु र सरकारी धाराको पानी खान पाउँने आशामा २५ वर्षदेखि बसेको नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय गंजभवानीपुरको सभापति प्रभुलाल कुशवाहाले बताउनुभयो ।

नयाँ नयाँ आयोजना बढीमा तीन–चार वर्षभित्रमा स्थानीय सरकारले सपन्न गर्ने गरेपनि यो आयोजनामा राम्रो कमाई नहुने भएकाले यसतर्फ वडा र नगर कसैको ध्यान नपुगेको उहाँको भनाई छ ।

खानेपानी र सरसफाइमा वडाध्यक्षको पहिलो जिम्मेवारी सहितको कर्तव्य रहेकोमा वडाध्यक्ष चन्दन कुमार पछि हटेको कुशवाहाको आरोप छ । ग्रामीण सडक निर्माण, ग्राभेल तथा नालासहितको सडक पक्की ढलान गर्ने क्रममा खानेपानी आयोजना अन्तर्गत टोलटोलमा बिछ्याइएको सानाठूला साइजको पाइप लथालिङ्ग अवस्थामा पुगेको स्थानीय मनोज साह तेलीले बताउनुभयो ।

यस टोलका दुईदुई पटक निर्वाचित भएका विधायक शारदाशंङ्कर प्रसाद साह, उप–मेयर तारा देवी कानु र वडाध्यक्ष उपेन्द्र प्रसाद जैसवाल, चन्दन कुमारले पूर्ण रूपले खानेपानी आयोजनामा आँखा बन्द गरेको स्थानीयको आरोप छ ।

अढाई दशकअघि खानेपानीको आयोजनाको कार्य सुरु भएपनि हालका दिनसम्म सोही टोलका वडा अध्यक्ष उपेन्द्र प्रसाद जैसवाल र १० नम्बर वडाध्यक्ष चन्दन कुमारसहितका स्थानीय अगुवाहरू कमाई हुने आयोजनामा केन्द्रित भएका कारण खानेपानीको आयोजना वर्षौँदेखि अलपत्र रहेको स्थानीय गणेश प्रसाद गुप्ताले गुनासो गर्नुभयो ।

खानेपानी आयोजना अन्र्तगत ५ प्रतिशत मात्र पाइप बिछ्याउने काम बाँकी रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका प्रमुख किशोरी प्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार उपभोक्ता समिति निष्क्रिय भएपछि यो आयोजनामा केन्द्रीय तथा प्रादेशिक बजेट पनि वर्षोंदेखी आएको छैन् ।

यसलाई सञ्चालनमा ल्याउन चालु–आर्थिक वर्ष ०८०/८१ को साउनदेखि कार्य अगाडी बढाए तीन–चार महिनाभित्रमा टोलटोलमा पानी वितरण गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । खानेपानी आयोजनाको उपभोक्ता समितिको बारेमा आफूलाई पूर्ण रुपमा जानकारी नभएको र चालु आर्थिक वर्षमा पानी घरघरमा वितरण गरिने वडा नम्बर १० का अध्यक्ष चन्दन कुमारले बताउनुभयो ।

 


सम्बन्धित समाचार