Logo

फाइल तस्बिर

२७ असार,वीरगञ्ज । खडेरीको कारण समयमै भुरा उपलब्ध नहुँदा नेपालमा माछा उत्पादन घट्दै छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बाराको कलैयास्थित परियोजना कार्यान्वयन एकाइका अनुसार आगामी आर्थिक वर्ष माछा उत्पादन अझ घट्ने देखिएको छ ।

फागुनदेखि असार माछाका भुरा उत्पादनको मुख्य सिजन हो। तर ती पाँच महिनामा पर्याप्त वर्षा नहुँदा बाराका विभिन्न पोखरीहरूमा पानीको सतह घटेको छ। यसकारण मागअनुसार माछाको भुरा उत्पादन गर्न नसकिएको परियोजना कार्यान्वयन एकाइका प्रमुख डा हेमचन्द्रकुमार जैसवारले बताए ।

उनले चालु आवमा उत्पादित भुराबाट आगामी आवमा असर पर्ने भएकाले आगामी आव २०८०÷८१ मा १० प्रतिशतले माछा उत्पादनमा कमी आउने जानकारी दिए । आव २०७९÷८० मा बाराको १ हजार ८ सय ६५ हेक्टर जलाशयसहितको पोखरीबाट १४ हजार ९ सय २० मेट्रिक टन माछा उत्पादन भएको थियो ।

चालु आवमा भुरा उत्पादन कम भएकाले आगामी वर्ष माछा उत्पादन १० प्रतिशत कम हुने उनको विश्लेषण छ । बारामा गत आवमा १ हजार ८ सय ६५ हेक्टर बराबरको पोखरीमा माछापालन गरिएको थियो भने चालु आवमा ५५ हेक्टर वृद्धि भएको छ ।

नेपालको माछा उत्पादनमा १९ प्रतिशत योगदान बारा जिल्लाको हुने गरेको छ। बारामा माछा उत्पादनको सुपरजोन योजना सञ्चालनमा छ। केन्द्रीय माछा उत्पादन तथ्यांकअनुसार तराई–मधेसमा खडेरीका कारण आगामी आवमा माछा उत्पादनमा केही प्रतिशत असर पर्ने केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, बालाजुका मत्स्य विकास अधिकृत सुभाष झाको भनाइ छ । नेपालमा खपत हुने करीब एक लाख १४ हजार मेट्रिक टन माछाको कुल मूल्य रु २५० को दरले २८ अर्ब ५० करोड मूल्य हुन्छ ।

नेपालमा कुल माछा उत्पादनमा पहाडी जिल्लाको १२ प्रतिशत र मधेस प्रदेशकै आठ जिल्लाको मात्र ६० प्रतिशत योगदान रहेको छ । नेपालमा खासगरी कार्प जातिको नैनी, कमनकार्प, भकुरा, रहु, सिल्भर, बिगहेड कार्प, ग्रासकार्प, पङ्गास (बचुवा) माछा उत्पादन हुने गरेको छ ।


सम्बन्धित समाचार