Logo

असार २९, काठमाडौँ, । अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउनुहुने भएको छ । उहाँले अमेरिकी विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एसिया मामिला हेर्नुहुन्छ ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी सरकारको सहयोग अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुँदा हुन लागेको भ्रमण सोही सेरोफेरोमा केन्द्रित हुने अनुमान गरिएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार उहाँले अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारी सँग पनि छुट्टै छलफल गर्नुहुने छ । जसमा उहाँले सिप आदानप्रदानसँगै वैश्विक प्रतिस्पर्धाका लागि आवश्यक कार्यका विषयमा विमर्श गर्नुहुने छ ।

उहाँ यसअघि एमसिसी परियोजना संसद्बाट अनुमोदन हुनेताका नेपाल भ्रमणमा आउनुभएको थियो । मात्र एक दिनका लागि नेपाल भ्रमणमा आउन लाग्नुभएका लु लामो समयअघिदेखि नेपालसँग परिचित हुनुहुन्छ ।

ससुराली देशमा कूटनीतिक यात्रा

उहाँले पहिलो पटक सन् १९९३ मा नेपाल भ्रमण गर्नुभएको थियो । उहाँले एक भिडियो सन्देश दूतावासमार्फत सार्वजनिक गर्दै त्यस बेला नेपाल आउँदा एक नेपाली युवतीसँग प्रेममा परेर बिहे गरेको स्मरण गर्नुभयो । यस हिसाबले नेपाल उहाँको ससुराली देश हो । अहिले अमेरिकाको सहायक विदेशमन्त्रीको हैसियतमा कूटनीतिक यात्रामा ससुराली देश नेपाल आउन लागेको उहाँले औँल्याउनुभएको छ ।

नेपाली युवतीसँगको २६ वर्षे लामो वैवाहिक सम्बन्ध अझै सुमधुर रहेको र आफूहरूका दुई सन्तान रहेको उहाँले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार