Logo

२९ असार, काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्। सहायक विदेशमन्त्री लु एकदिनका लागि मात्र नेपाल भ्रमणमा आउने भएका हुन्।

यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी काठमाडौंमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अघिल्लो दिन बिहीबार मात्रै लुको भ्रमणका विषयमा औपचारिक जानकारी दिएको थियो।

अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासबारे बुझ्ने समेत दूतावासले जनाएको छ।

लु यसअघि नेपालमा एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका बेला काठमाडौं आएर नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए।

त्यस समयमा उनको नेपाल आगमन र राजनीतिक भेटघाटले निकै चर्चा पाएको थियो।


सम्बन्धित समाचार