Logo

फाइल तस्विर

१ साउन, वीरगञ्ज । नेकपा एमालेको संगठित सदस्यको संख्या ५० प्रतिशतको हाराहारीमा घटेको छ । सचिवालय बैठकमा सवै प्रदेशबाट आएको तथ्यांक अनुसार नेकपा एमाले सवै भन्दा कमजोर मधेसमा देखिएको छ । मधेसका झण्डै ७० प्रतिशत संगठित सदस्यहरुले पार्र्टी सदस्यता नविकरण गरेका छैनन् ।

एमालेका एक सचिवालय सदस्यका अनुसार कोशीमा ५० प्रतिशत, मधेशमा ३० प्रतिशत, वाग्मतीमा ५० प्रतिशत, गण्डकी र लुम्बिनीमा ६० प्रतिशत, कर्णाली र सुदूरपश्चिममा ४० प्रतिशतको हाराहारीमा संगठित सदस्यहरुले पार्टी सदस्यता नवीकरण गरेका छन ।

नेकपा एमालेले १० औं महाधिवेशनमा ८ लाखको संख्यामा पार्टी सदस्य रहेको जनाएको थियो । एमालेका संगठित सदस्य घटेपछि अध्यक्ष केपी शर्मा ओली अप्ठारोमा परेका छन् । पार्टीलाई विधि विधान भन्दा एकलौटी रुपमा संचालन गरेको कारण नेतृत्वको कार्यशैलीमा विमति राख्दै झण्डै ५० प्रतिशत सदस्यले नविकरण नगरेको एक सचिवालय सदस्यले बताए ।

अन्य राजनीतिक दलको तुलनामा संगठन व्यवस्थापन चुस्त मानिने नेकपा एमालेको संगठित सदस्यहरूको संख्या उल्लेख रुपमा घटेको देखिएपछि सचिवालयको बैठकले नयाँ नीति अवलम्वन गर्ने भएको छ ।

एमाले पछिल्लो पटक तोकेका प्रदेश इन्चार्जहरूले पार्टीको आन्तरीक अवस्थाबारे जानकारी गराउँदै सदस्यता नवीकरण संख्या उल्लेख्य नरहेको भन्दै निराशाजनक आँकडा प्रस्तुत गरेका थिए । प्रदेश इन्चार्जहरुले पेश गरेको तथ्यांकले पार्टी सदस्यता नवीकरण गराउने सदस्यहरूको संख्या आधाको हाराहारीमा रहने देखाएको छ ।

एमाले संगठनलाई जनस्तर सम्म बलियो बनाउन मिसन ग्रासरुटको अभियान संचालन गरेको थियो । अभियानका क्रममा निस्कृय रहेका केही संगठित सदस्यहरुले नविकरण गरेपनि अधिकांशले पार्टीले जनताको पक्षमा राम्रो काम गर्न नसकेको र सत्तालाई केन्द्र विन्दुमा राखेर अभिव्यक्ति दिने गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

‘एमालेको सचिवालय बैठकमा प्रदेश इन्चार्जहरू रघुवीर महासेठ, विष्णु रिमाल, गोकर्ण विष्ट, पद्मा अर्याल, लेखराज भट्ट र छविलाल विश्वकर्माले आ आफ्नो प्रदेशको प्रतिवेदन प्रस्तुत गरेका थिए । मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई अनुपस्थित रहेकाले सचिव महासेठले त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए ।

एमालेले असार मसान्तसम्म नवीकरण गर्ने र भदौभित्र प्रदेश कमिटी महाधिवेशन गर्ने योजना बनाएको छ । एमालेले यसअघि आइतबारसम्मका लागि नवीकरणको समय छुट्याएको थियो । तर नवीकरण उल्लेख्य नभएको रिपोर्टिङ आएपछि शनिबारको एमाले सचिवालय बैठकले साउन १५ गतेसम्मका लागि नवीकरणको समयसीमा थपेको छ ।

‘पार्टी सदस्यता नवीकरणको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने अघिल्लो निर्णयलाई बढाएर साउन १५ गतेसम्म सदस्यता अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने र अधिवेशनको तयारीमा लाग्ने निर्णय गरेको छ’ बैठकपछि प्रचार सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेभित्र आन्तरिक रुपमा गरिएको समीक्षामा नयाँ दलको प्रभाव हुनसक्ने छलफल रहेको छ । गत वैशाखमा भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्तारुढ गठबन्धनको विकल्पको रुपमा एमालेलाई मतदाताले नलिएको भन्दै त्यसलाई गम्भीर चिन्ताको विषयको भएको औंल्याइएको थियो ।

मंसिरमा भएको संसदीय निर्वाचनमा अघिल्लो चुनावमा भन्दा समानुपातिकतर्फ मत घटे पनि पहिलो भएको थियो । गत वैशाख १० गते भएको उपनिर्वाचनमा एमालेको परिणामले एमालेको प्रतिनिधिसभाको सिट संख्या तलमाथि नभएर पनि उम्मेवदारको मत भने उल्लेख्य रुपमा घटेको थियो‚ जसलाई अध्यक्ष ओलीले चिन्ताको विषय भनेका थिए ।

लामो समयमा निष्क्रिय रहेको पार्टी संगठनलाई चलायमान बनाउन एमालेले फागुनदेखि वैशाखसम्म ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो । त्यस लगत्तै भूमिगतकालीन पार्टी सञ्चालनको अभ्यास सुरु गरेको थियो । जसमा नेताहरूलाई आफ्नो भूगोलको जिम्मेवारीमा केन्द्रित गरेको थियो र आफ्नो गृहस्थल रहेको भन्दा फरक भूगोलमा जिम्मेवारी दिएको थियो ।


सम्बन्धित समाचार