Logo

१ साउन, वीरगञ्ज । असार सकिएर श्रावण अथवा साउन महिना सुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ ।

श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान् शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान् शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिव लिङ्गमा जल तथा बेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात् गङ्गा नदी लिएर हिँडेका भगवान् शिव आफै जल हुनुभएको उल्लेख गरिएको छ ।

यसै हिसाबले पनि यस महिना शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । आज बिहानैदेखि वीरगञ्जको चिनिमिल स्थित पशुपतिनाथ मन्दिर, वीरगञ्जको अलखियामठ लगायतका शिवालयमा पूजा आराधाना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

यस वर्ष दोमास परेकोले दुई महिना सावन रहेको पशुपतिनाथ मन्दिर पुजारी प्रहलाद कोईरालाले बताउनु भयो । दोमास भने महिनाको सानो र ठुलो भएको कारणले हरेक १९ या २० वर्ष पर्ने गरेको उनको भनाई छ ।

तिथि अनुसारर असार १५ गते देखि साउन लागि सकेको तर महिना र गते हर्ने हो भने आज साउन १ गते देखि सुरु भएको कोईरालाले बताए । ‘उनले भने’ आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन् , ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ, । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन छ , । यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।

शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको पहिलो सोमबारको अवसरमा हजारौंको संख्यामा भक्तजनले पशुपति मंदिरको शिवालयमा पूजा आराधना गरिरहेका छन् ।

तराई मा यो महिना भरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउन्जेल खुट्टामा चप्पल समेत नलगाई चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्रा कोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँट घाट धाम लगायतको विभिन्न शिवालयहरूमा काँवरहरूको ठुलो घूँइचो रहने गर्दछ ।

श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट सङ्क्रान्ति लाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिन्छ ।

श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्त्व रहिआएको छ । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाँग, धतुरो तथा बेली पुष्प समर्पण गरी सफलता, सु(स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रही आएको छ ।

यो रङ्गिन महिनाको सुरुवात भनेकै कर्कट सङ्क्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका अलावा परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि रङ्गिन चुराहरू लाउने गरिन्छ ।

श्रावणसम्ममा बारीका मकैहरू पनि ठुलै घोगा भइसकेका हुन्छन्, श्रावणको झरीमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । गाउँघरका हिलो गोरेटोमा प्याट्ट प्याट्ट चप्पल पड्काउँदै लड्दै चिप्लीदैँ हिँडेको बाल्यकालका यादहरू पनि श्रावण महिनाको एउटा सम्पत्ति हो, यस श्रावणले हामी सबैको जय होस १

लुतो फाल्ने दिन

श्रावण महिनामा सूर्य कर्कट राशिमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरी पर्नुभएकाले मान्छेहरू आव-जावत गर्दा पानीमा रुझ् सक्ने संभावना हुन्छ । त्यसमाथि कृषि अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिट्टिनु लगभग सामान्य झैँ हो । यसर्थ गर्मी र वर्षाको यो असरले वर्षाको महिनाहरूमा चर्म तथा छालासँग सम्बन्धित रोगहरू जस्तै लुतो, दाद, घमौरा या खटिराहरू आउन सक्ने सम्भावना अत्यधिक हुन्छ ।

साउने सङ्क्रान्ति लाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रूपमा पनि लिइन्छ । लुतो फाल्ने आ(आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । यस दिन नदी किनारमा गई शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ भने कसैले भन्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहेकाे पाइन्छ ।


सम्बन्धित समाचार