Logo

७ साउन, वीरगञ्ज । दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ १०० दिनमा १७ करोड भन्दा बढीको कमाई गरेको छ।

वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ फिल्मले शनिबार प्रदर्शनको १०० दिन पुगेको छ। क्युएफएक्सको सेन्ट्रल सिनेमा, बिग मुभिज, एफक्युब हलमा १०० दिन मनाएको हो।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार ग्रस कमाइ गरेको छ।

सय दिन पुगेको उपलक्ष्यमा निर्माण टिमले विभिन्न हल पुगेर दर्शकसँग खुशी साटेका थिए। अभिनेता दयाहाङ राईले सय दिनमा पनि दर्शकको उपस्थिति पहिलो दिनमा जस्तै भएको बताए।

‘सय दिन पुगिसक्दा पनि तपाईहरूले फिल्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद,’ अभिनेत्री मिरुनाले भनिन्, ‘दर्शकको मायाले उर्जा थपिएको छ। आगामी दिनमा जारी जस्तै अन्य फिल्म पस्कने प्रयास गर्छौ।’

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

बासुरी फिल्म्स ब्यानरको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।


सम्बन्धित समाचार