Logo

९ साउन वीरगञ्ज । जिल्ला प्रशासन कार्यलय पर्साबाट एक महिनाको अवधिमा २ हजार भन्दा बढि जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता लिएका छन् ।

नयाँ नागरिकता ऐन लागू भएसँगै पर्सामा ६ सय १४ जना महिलासहित २ हजार ५ सय ८१ जना जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता लिएका हुन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी भीमकान्त पौडेलले नयाँ नागरिक ऐन लागू भएसँगै उक्त अवधिमा कूल ७ हजार ७ सय ८२ जनाले आवेदन दिएको जानकारी दिनुभयो । जसमध्ये २ हजार ५ सय ८१ जनालाई नागरिकता वितरण गरिएको उहाँको भनाइ छ । कार्यालयले हाल दैनिक १ सय जनाको दरले नागरिकता वितरण गर्दै आएको छ ।

नागरिकता वितरणलाई सहज बनाउन अनलाइन टोकन प्रणाली पनि लागू गरिएको पौडेलले बताउनुभयो । अनलाइन प्रणालीबाट टोकन लिएपछि टोकनमा उल्लेख गरिए बमोजिम कार्यालयमा गएर नागरिकता लिन सकिने कार्यलयले जनाएको छ ।

यस्तै पर्साका प्रमुख प्रशासकिय अधिकृत विनय श्रीवास्तवले पर्सामा २०६३ सालमा खटेको नागरिकता टोलीबाट जन्मका आधारमा करिब १५ हजार ३०० सयभन्दा बढीले नागरिकता लिएको बताउनुभयो ।

अहिले उनीहरूको १७ देखि १८ हजार सन्तानले नागरिकता लिने अनुमान रहेको उहाँको भनाइ छ । श्रीवास्तवका अनुसार उक्त अवधिमा फर्जी विवरण पेस गरेर नागरिकता प्राप्त गर्न खोज्ने दुई जना पक्राउ समेत परेका छन् ।

 


सम्बन्धित समाचार