Logo

१० साउन, वीरगञ्ज । पर्सा जिल्लामा ६५ प्रतिशत खेत बाँझै रहेका छन् । लामो समयको खडेरीले समयमा धानको ब्याड राख्न नपाएका किसानले ढिलो गरी जसोतसो धानको ब्याड राखेपनि पर्याप्त पानी नपर्दा धान भने रोप्न नपाउँदा अधिकांश खेत बाँझो बसेको हो ।

गण्डक नहरको पानी पनि समयमा नपाउँदा किसानले धान रोपाँई गर्न नपाएका हुन् । गण्डक नहर भन्दा उत्तरीक्षेत्रमा डिपबोरिङ र स्यालो ट्युववेलको प्रयोगबाट पानी तानेर धान रोपाँई गरेको भएपनि गण्डक नहरको पानीले सिँचाई गर्नुपर्ने दक्षिण क्षेत्रमा अझै पर्याप्त पानी नहुँदा धान रोपाँई गर्न नसकेको हो । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनीलाल प्रसादका अनुसार अहिले पर्सा जिल्लामा ३५ प्रतिशत मात्रै धान रोपाँई सम्पन्न भएको छ । नहरको उत्तरतर्फ पम्प सेटबाट पानी तानेर पनि धान रोपाँई गरेका छन् ।

सीमाक्षेत्रको र गण्डक नहरको दक्षिणतर्फ जग्गा बढी बाँझो छन् । उत्तरीभेगमा लगभग धान रोपाँई भईसकेको छ । ठोरी, सुवर्णपुर, पर्सागढी लगायतका क्षेत्रमा रोपाँई भएका छन् । तर, रोपाँई गरिएको धानमा गभारो किरोको प्रकोप देखिएपछि किसानलाई थप चिन्ताले सताएको छ ।

धान रोपाँई गरि सकेका किसानहरुको खेतमा धानले गाँज हाल्न नपाउँदै पानी अभावले गर्दा गभारो किराको प्रकोप देख्न थालेपछि किसानहरुलाई अर्को चिन्ता थपिएको छ । पर्साको पर्सागढी, सखुवाप्रसौनी र पटेर्वासुगौली लगायतका गाउँपालिकामा पर्ने खेतहरुमा रोपिएको धानमा गभारो किरोको प्रकोप देखिएको हो । धान रोपेको १ महिना पुग्न लाग्दा गभारो किराले धानको गुभा खान थालेपछि धानका पात र गाँज नै सुक्न थालेको किसानले बताएका छन् ।

धान बालीले गाँज हाल्ने समय भएको र मौसम प्रतिकूल भएका कारणले गभारो किराको प्रकोप देखिएको बाली संरक्षण अधिकृत सम्सुल हक दर्जीले बताउनुभयो । धान रोपेँपछि पनि पानीको आवश्यकता पर्ने हुँदा रोपाँई गरेको खेतमा पानी सुकेपछि गोभारो किराको प्रकोप देखिने गरेको दर्जीको भनाई छ ।

धान रोपिसकेपछि ६ औंला जतिमाथि छिपछिपे पानी जमाएर कारटाप हाईडोक्लोराईड ४% जि आर वा फिप्रोनिल ०.३% जि आर (५०० ग्राम) प्रती कठ्ठाको दरले बालुवामा मिसाई छर्ने गर्दा गभारो किरा नियन्त्रण गर्न सकिने दर्जीले बताउनुभयो । तर, बिसादी छरि सके पछि ४ दिन सम्म खेतको पानी बग्न भने दिन नहुने उहाँको भनाई छ ।

गभारो किराको प्रकोपले पनि यसपटक धान उत्पादनमा ह्रास आउने अनुमान छ । पर्सा जिल्लामा ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यसपटक अहिलेसम्म ३५ प्रतिशत मात्रै धान खेती भएको र खेतहरु बाँझै भएकोले धान उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनीलाल प्रसादको भनाई छ ।

 


सम्बन्धित समाचार