Logo

१२ साउन, वीरगञ्ज । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच मिस युनिभर्स नेपालको चौथो संस्करणको घोषणा गरिएको हो।

उमंग क्रियसन प्रालिद्वारा आयोजित यस प्रतियोगिताको आवेदन खुला गरिएको मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले कार्यक्रममार्फत जानकारी दिएकी हुन्।

यस संस्करणमा उचाइ र तौलको मापदण्ड तोकिएको छैन। समलैंगिक महिला, गैरआवासीय नेपाली महिला, विवाहित महिला र आमाहरूले समेत भाग लिन पाउने व्यवस्था गरिएको छ। अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्ष कायम गरिएको छ।

‘मिस युनिभर्स नेपाल २०२३’ को विजेताले ‘७२ औं मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यो प्रतियोगीतामा सहभागीता जनाउनका लागि मिस युनिभर्सको वेबसाइटमा गएर वा खल्ती एप प्रयोग गरी आफ्नो नाम दर्ता गर्न सकिनेछ।

यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरूले अगस्ट ३ सम्म नाम दर्ता गर्न सक्नेछन्। ४ अगस्टमा आयोजकले क्वाटरफाइनलको घोषणा गर्नेछ। यस्तै, १४ अगस्टमा सेमिफाइनलिस्टको घोषणा गर्ने आयोजकले जनाएको छ। मिस युनिभर्सको फाइनलमा पुग्नका लागि निर्णायकहरूको स्कोर र फ्यानको भोटले महत्वपूर्ण भूमिका खेल्नेछ।

सेप्टेम्बर ८ मा ‘मिस युनिभर्स नेपाल २०२३’ को घोषणा गरिनेछ। विजेताले क्राउन र इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछिन्। विजेतासँगै चार उपविजेता पनि घोषणा गरिने बताइएको छ।

मुख्य उपाधिसँगै ‘मिस इको इन्फिनिटी, मिस आइसीटी, मिस लाइफस्टाइल व्यञ्जन, सामाजिक प्रभाव नेता, मार्टिनी सन एन्जल, मिस फ्रि र फियरलेस’ विधामा पनि प्रतियोगीहरूलाई पुरस्कृत गरिनेछ। यो प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन्।

मिस युनिभर्स नेपालका प्रबन्ध निर्देशक उद्धव अधिकारीले प्रतियोगिताले सबैलाई अवसर प्रदान गर्दै अघि बढ्न प्रोत्साहन दिने बताए ।


सम्बन्धित समाचार