Logo

१४ साउन, विरगन्ज । बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताएका छन्।

आज पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको बताए । उनले सुन काण्डमा राम्रोसँग अनुसन्धान हुन नसकेमा गृहमन्त्री र अर्थको राजीनामा माग्ने अवस्था आउन सक्ने बताए ।

हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै उनले सङ्घीय संसद्को सङ्ख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत सङ्ख्या घटाउनु पर्ने उल्लेख गरे । घटाइएको सङ्ख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृत लगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनले बताए । यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उनले बताए ।

पुँजीगत खर्चभन्दा चालू खर्च ४ गुणा बढी भएको बताउँदै उनले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताए । विगत १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पुँजीगत खर्च हुन सकेको बताउँदै उनले भ्रष्टाचार, अनियमितताले नै यति धेरै बेरुजु निस्किएको उल्लेख गरे ।

यसको नियन्त्रणका लागि पनि संसद् सङ्ख्या घटाउनु पर्नेमा जोड दिए । पौडेलले नेपाली कांग्रेस केन्द्रीय समितिले बैठकमा भएको लाइभ अब निरन्तरता पाउने बताउँदै अब पछाडि फर्कन नसक्ने बताए ।


सम्बन्धित समाचार