Logo

१४ साउन,काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गएको असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरी २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । यस अवधिमा पुरीको वैध आय एक करोड २० लाख ७७ हजार सात सय ४८ रुपैयाँ बराबर रहेको पाइएको छ ।

त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत रहेको छ । यस अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार छ सय ९० रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।

खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । आयोगले बिगो बमोजिम जरिबाना र कैद सजायको माग गरेको छ ।

सार्वजनिक पदमा रहँदा गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ । आयोगले सिर्जनालाई समेत प्रतिवादी कायम गर्दै आज आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार