Logo

१४ साउन, वीरगञ्ज । दिउँसै सिक्री चोरेर भाग्ने एक बालक सहित पर्साका तीन जना गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर गाउँपालिका –६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालकलाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । शनिबार बेलुका सुलकपुरस्थित बजारमा तरकारी किन्दै गरेकी सुन्दरहरैँचा–९ की निर्मला राईको घाँटीबाट विशालले सिक्री चोरेका थिए । बजारमा सिक्री चोरेर भागेका उनलाई स्थानीयले पक्रिएर प्रहरीको जिम्मा लगाए ।

तर, उनको साथमा सिक्री भेटिएन् । बजारमा उनको नजिकै रहेका १० वर्षीय बालकको साथबाट सिक्री भेटियो । बालक बिशाल र उमेश चोरी हुनुअघि सँगै थिए । विशालले सिक्री चोर्नासाथ १० वर्षीय बालकलाई थमाइदिएर भागेको प्रहरीले बताएको छ । प्रहरीले बालकको साथबाट सिक्री बरामद गरेपछि उनीसँगै रहेका उमेशलाई पनि नियन्त्रणमा लियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जना पर्साबाट योजनावरुद्ध रुपमा चोरीका लागि आएको देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । बालकलाई शंका नगर्ने र सजाय पनि कम हुने भएकाले यसरी प्रयोग गरेको देखिएको उहाँले बताउनुभयो । सिक्री चोरेको आरोपमा पक्राउ परेकाहरु होटलमा बस्ने र गाडीमा हिड्ने गरेको देखिएको प्रहरीले जनाएको छ । अन्य चोरीको घटनामा पनि संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको डीएसपी दाहालको भनाइ छ ।


सम्बन्धित समाचार