Logo

१४ साउन, वीरगञ्ज । देशमा बेरोजगारी समस्या बढ्दै गएपछि देशैभरबाट युवा बिदेशिने क्रम बढेको छ । पर्साबाट समेत रोजगारीकै शिलशिलामा बिदेशिने युवाहरुको सङख्यामा वृद्धि भएको हो ।

जिल्ला प्रशासन कार्यलयहरुमा विशेषगरि अहिले राहदानी बनाउन जाने युवाहरुको सङख्यामा ह्वात्तै वृद्धि भएको छ । देशमै रोजगारीको अवसर नपाएपछि बाहिरिनु परेको उनीहरुले बताएका छन् । केही पढनको लागि भनेर विदेश जान लागेको बताएपनि स्वदेशमा आफ्नो भविश्य नदेखेको कारण बैदेशिक रोजगारीमा जान लागेको उनीहरुको भनाई छ ।

शिक्षित युवाहरुका लागि समेत रोजगारीको सृजना नगरिनु तथा भएको रोजगारीमा पनि उचित पारिश्रमिक नपाउने हुनाले बिदेशिन बाध्य हुनु परेको उनीहरुको भनाइ छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १५ का अरुण साहले देशमै रोजगारी गर्दै आए पनि उचित पारिश्रमिकको अभावमा जीविकोपार्जनका लागि समस्या हुन थालेपछि बिदेशिने निर्णय गरेको बताउनुभयो । उहाँले विदेशमा जानु आफ्नो रहर नभई बाध्यता भएकाले स्वदेशमै उचित पारिश्रमिक सहितको रोजगारको सृजना गर्न तीन तहकै सरकारसँग आग्रह गर्नुभएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यलय पर्सामा राहदानी बनाउन आएका इस्माइल हकले हातमा सीप भए पनि राम्रो आम्दमनी नभएकोले परिवार चलाउन समस्या भइरहेको उल्लेख गर्नुभयो । उहाँले केही सीप नभएकाहरूको झन् स्थिति के हुने होला भन्दै प्रश्न समेत गर्नुभएको छ ।देशमा विद्यमान समस्याहरुका कारण युवाहरु विशेष चपेटामा पर्ने गरेको उहाँको गुनासो छ ।

यता पर्साकै बहुदरमाई नगरपालिका वडा नं। ९ विश्रामपुरमा असरत अन्सारीका अनुसार आर्थिक स्थिती कमजोर भएका मानिसलाई रोजगारी पाउन समेत समस्या हुने गरेको छ । सघिंय, प्रदेश र स्थानिय तीन तहकै सरकारले जागिरको व्यवस्था गर्न नसकेको उहाँको गुनासो छ ।

यसरी बैदेशिक रोजगारीमा जाने युवाहरुमा कतिपय त आफ्नो पढाई बिचमै छोडेर जाने पनि रहेका छन् । बहुदरमाई नगरपालिकाका १८ वर्षीय मोहम्द याकुब अन्सारी कक्षा १२ मा अध्ययनरत छन् । तर, उनको परिवार आर्थिक रुपले असक्त रहेकाले पढाइ छाडेर विदेश जाने सोच बनाएको बताउछँन् । उहाँले राहदानी बनाएर कक्षा १२ पछि रोजगारीका लागि विदेश जाने र परिवार पाल्ने सोच बनाएको जानकारी दिनुभयो ।

उता जिल्ला प्रशासन कार्यलय पर्सामा राहदानी लिन आउने मानिसहरुको सङख्यामा पनि वृद्धि भएको छ । कार्यलयले उपलब्ध गराएको तथ्याङक अनुसार गत आर्थिक वर्ष ०७९÷०८० मा एक वर्षको अवधिमा ६ हजार १ सय ३० जनाले राहदानी बनाएका छन् ।

रोजगारी तथा अध्ययन लगायतका युवाहरु राहदानी बनाउन आउने गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता भिमकान्त पौडेलले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार