१४ साउन, काठमाण्डौ । आज आइतवार बिहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दिउँसो ३ बजेपछि दुईतर्फी नै सञ्चालनमा आएको छ । बिहान इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरोका कारण सयौँ गाडी र यात्रु अलपत्र परेका थिए । पहिरो हटाएपछि अहिले सडक पूर्णरूपमा सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । वर्षाका कारण यो सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
अहिले राष्ट्रिय राजमार्गअन्तर्गत तमोर कोरिडोरको पाँचथर खण्ड, कालीगण्डकी कोरिडोरको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ । विभिन्न २४ वटा सडक खण्ड एकतर्फी सञ्चालनमा छन् ।