Logo

१४ साउन, वीरगञ्ज । पर्सामा लामो समयको खडेरीपछि दुई दिन परेको पानीका कारण किसान हर्षित भएका छन् भने थोरै पानी पर्दा केही किसान मारमा परेका छन्। शुक्रबार र शनिबार परेको पानीले धान रोपाइँ गर्न नपाएका किसानलाई केही राहत मिलेको छ।

तर, वीरगञ्ज महानगरपालिकाका किसानको बिघौँ धानबाली डुबानमा परेको छ । महानगरपालिका–३० मा किसानको धान रोपाइँ डुबानमा परेको हो। दुई दिनसम्म परेको पानीले नजिकै रहेको भेडाहा खोलामा आएको थोरै बाढीको पानीले किसानको धान खेती डुबानमा परेको हो ।

बाढीको पानी कम भए पनि उचित निकास नहुँदा किसानको बिघौँ धानबाली डुबानमा परेको छ। बाढी र वर्षा भएको पानीको निकास बन्द हुँदा अहिले किसानको खेतमै पानी रहिरहनाले धान खेती डुबानमा परेको वीरगञ्ज महानगरपालिका–३० लालपर्सा टोलकी पतईया अहिरिनले बताइन्।

महानगरको उक्त वडामा बर्सेनि भेडाहा खोलामा आउने बाढीले धान खेती डुबानमा पार्दै आए पनि यसपालि भने पानी कम पर्नाले धान बाली डुबानमा नपर्ने भन्नेमा किसान ढुक्क थिए। तर, पानीको निकास नै बन्द हँुदा धान बाली डुबानमा परेको सोही स्थानका किसान रामबाबु प्रसादको भनाइ छ ।

वडा नम्बर ३० मा रहेका खेतको धानबाली डुबानमा पर्नुको मुख्य कारण वरिपरि भएका कारखाना भएको किसान बताउँछन्। खेत नजिकै रहेको सर्वोत्तम स्टिल, काबेरी एक्जिमजस्ता कारखानाका कारण पानी बग्ने कल्भर्ट बन्द भएको तथा पानीको निकास हुन नसकेको किसानको भनाइ छ ।

पानीको निकास दिएर किसानलाई राहत दिनुपर्ने सोही स्थानका अर्का किसान श्रीलाल साहले बताए। चारैतर्फबाट कारखाना बनेपछि अहिले वडा नम्बर ३० मा पानीको निकास नभएर पानीले जगरनाथपुर मिलन चोक रोड भएर बग्न थालेको छ। थोरै पानी परे पनि पानीको निकास बन्द हुनु तथा किसान मर्कामा परेको थाहा पाएर बिहानै डोजरले कल्भर्ट सफा गरेको वडा नम्बर ३० का वडाध्यक्ष मनोजकुमार यादवले बताए ।


सम्बन्धित समाचार